Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • संसारको यस्तो देश जहाँ ४ बर्षदेखि पानी नपरेपछि मानिसहरूले कीराफट्याङ्ग्रा र सिउँडीको पात खाएर ज्यान बचाँए

    संसारको यस्तो देश जहाँ ४ बर्षदेखि पानी नपरेपछि मानिसहरूले कीराफट्याङ्ग्रा र सिउँडीको पात खाएर ज्यान बचाँए

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    एजेन्सी। म्याडग्यास्कर ‘जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरी’ को सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

    राष्ट्रसङ्घका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै ‘डरलाग्दो’ भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन्।



    यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन्। उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन्।



    ‘यो भोकमरीजस्तो अवस्था हो अनि यो द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको हो,’ राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भनिन्।

    अहिले ३० हजार मानिसले पाँचौँ तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसङ्घको आकलन छ। खेती सुरु गर्ने र बालीनाली भित्र्याउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावित मानिसको सङ्ख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ।

    ‘यो अभूतपूर्व हो। यी मानिसहरूले जलवायु परिवर्तन गराउन त्यस्तो केही गरेका छैनन्। उनीहरू जीवाश्म इन्धन बाल्दैनन्… तर पनि उनीहरूले जलवायु परिपवर्तनको आघात खप्नुपरेको छ,’ ठकरालले भनिन्।

    भर्खरै एम्बोआसरी जिल्लाको दुर्गम फ्यान्डिओभा गाउँमा गएको डब्ल्यूएफपीको टोलीलाई मानिसहरूले आफूले टिपेर खाने गरेका कीराफट्याङ्ग्राहरू देखाएका थिए।

    ‘म यी कीरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन,’ चार सन्तान भएकी एक महिला टामारियाले भनिन्।

    ‘मेरा बच्चा र मैले आठ महिनादेखि प्रत्येक दिन यही खाइरहेका छौँ किनभने खानका लागि अरू केही छैन अनि पानी नपरेकाले हामी रोपेको कुरा फलाउन सक्दैनौँ,’ उनले भनिन्।

    ‘आज हामीसँग सिउँडीको पातबाहेक अरू खानेकुरा केही छैन,’ सुक्खा माटोमाथि बसेकी अर्की महिला बोलले भनिन् । उनका तीन सन्तान छन्।

    उनका अनुसार भोककै कारण उनका पति केही समयअघि बिते। छिमेकीको पनि भोककै कारण मृत्यु भएकाले तिनका दुई बालबच्चालाई खुवाउने जिम्मा पनि आफूलाई आइपरेको उनले बताइन्।

    ‘म के भन्न सक्छु र? खान र बाँच्नका लागि हाम्रो जीवन बारम्बार सिउँडीको पात खोज्दै बित्छ।’

    पानी व्यवस्थापनमा सुधार आवश्यक

    म्याडग्यास्करमा बेलाबेलामा सुक्खा परिरहन्छ तथा ‘एल नीन्यो’ का कारण उत्पन्न मौसमी अवस्थाका कारण प्रायः विभिन्न खालको प्रभाव परिरहन्छ। यद्यपि विज्ञहरू अहिलेको सङ्कट जलवायु परिवर्तनसँग सोझै सम्बन्धित भएको हुनसक्ने ठान्छन्।

    ‘आईपीसीसीको नवीनतम प्रतिवेदन आएसँगै हामीले म्याडग्यास्करमा सुक्खा बढेको देखेका छौँ। अनि जलवायु परिवर्तन भइरहने हो भने यो बढ्ने अपेक्षा छ।’

    ‘यसलाई धेरै रूपमा मानिसहरूले आफ्नो शैली फेर्नुपर्ने एउटा बलियो तर्कका रूपमा हेर्न सकिन्छ,’ दक्षिण अफ्रिकाको यूनिभर्सिटी अफ केप टाउनमा कार्यरत म्याडग्यास्करका वैज्ञानिक डा. रोन्ड्रो बारिमलालाले भने।

    क्यालिफोर्नियास्थित सान्टा बार्बरा यूनिभर्सिटीमा वायुमण्डलसम्बन्धी सोही तथ्याङ्क हेर्दै क्लाइमट हाजार्ड्स सेन्टरका निर्देशक क्रिश फङ्कले म्याडग्यास्करको सङ्कटको “वायुमण्डल तात्नुसँग” सम्बन्ध भएको पुष्टि गरे।

    उनले म्याडग्यास्करका अधिकारीहरूले जल व्यवस्थापनमा सुधार गर्नुपर्ने औँल्याए।

    ‘छोटो समयमै धेरै कुरा गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। हामी प्रायः सामान्यभन्दा बढी वर्षा हुने भविष्यवाणी गर्न सक्छौँ अनि त्यो सूचना प्रयोग गरेर किसानहरूले आफ्नो उत्पादन बढाउन सक्छन्। जलवायु परिवर्तन भए पनि हामी शक्तिहीन छैनौँ।’

    अहिले सुक्खाको प्रभाव दक्षिण म्याडग्यास्करका ठूला सहरहरूमा पनि देखा पर्न थालेको छ। त्यहाँ धेरै बालबालिकाहरू सडकमा खानेकुरा माग्दै हिँडेको देखिन्छ।

    टोल्यानारोमा सीड नामक एउटा सामाजिक संस्थामा कार्यरत शीना एन्डोर भन्छिन्, ‘बजारमा मूल्य बढिरहेको छ, तीन-चारगुनाले। मानिसहरू खानेकुरा किन्न आफ्नो जग्गाजमिन बेचिरहेका छन्।’

    उनका एक सहकर्मी लोम्बा हासोएभानाका अनुसार उनी तथा अरूहरू भोकबाट व्याकुल मानिसले आफूले खेती गरेको कसावा नचोरून् भनेर खेतमै सुत्न थालेका छन्। तर त्यसो गर्नु खतरनाक भएको उनले बताए।

    ‘तपाँईको ज्यान पनि जान सक्छ। मलाई गाह्रो हुँदै गएको छ किनभने दिनदिनै मैले आफू र परिवारलाई के ख्वाउने भनेर सोच्नुपर्छ,’ उनले भने।

    ‘अहिले मौसमबारे केही कुरा भन्न सकिँदैन। यो एकदमै ठूलो प्रश्न हो – भोलि के हुन्छ?’ बीबीसीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार