Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अत्तालिएका नेपाललाई साथ दिने झाँक्रीको प्रचण्डले गरे तारिफ, मन्त्रालय रोज्न दिइने

    अत्तालिएका नेपाललाई साथ दिने झाँक्रीको प्रचण्डले गरे तारिफ, मन्त्रालय रोज्न दिइने

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    निर्मल बाबु लामिछाने / काठमाडौँ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका माधवकुमार नेपाल समूहकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको जताततै चर्चा चलेको छ ।

    पछिल्लो समय नेपाल समूहमा अडानका साथ डटेर लागि परेकी झाँक्रीको चर्चा नहोस् पनि किन ? गत बुधबार नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका नेपाललाई हात समाएर झाँक्रीले आयोगको कार्यालय भित्र लागेकी थिईन।



    एमालेमा रहँदा अध्यक्ष केपी ओलीविरुद्ध लड्न नेता नेपाललाई डटेर साथ दिएकी झाँक्रीलाई सरकारमा ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ।



    यद्यपि यसअघि सत्तारुढ गठबन्धनले नेकपा एमालेकी सांसद समेत रहेकी झाँक्रीलाई प्रतिनिधिसभाको उपसभामुख बनाउने तयारी थालेको बताएको थियो।

    तत्कालिन नेकपा एमालेको नेपाल समुहबाट तत्कालिन ओली सरकारको गलत क्रियाकलाप विरुद्ध खरो अवाज उठाउँदै आएकी उनलाई उपसभामुख बनाउने तयारी भएको उच्च राजनीतिक स्रोतको भनाइ थियो।

    तर, नेपालको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीको दर्ता प्रक्रिया सकिए संगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरिरहेका बेला झाँक्री नेपाल पक्षबाट मन्त्री बन्ने पक्का जस्तै रहेको स्रोतको दाबी छ।

    नेपाल निकट एक नेताका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत झाँक्रीको खुलेर तारिफ गरेका छन् ।

    स्रोतका अनुसार प्रचण्डले झाँक्रीलाई रोजे अनुसारको मन्त्रालय दिनुपर्ने समेत बताएका छन्। झाँक्रीको दक्षता अनुसार उनले रोजेको मन्त्रालय दिन प्रधानमन्त्रीसंग प्रचण्ड आफैले कुरा गर्ने तयारी गरेको स्रोतले बताएको छ।

    झाँक्रीले तत्कालीन नेकपा हुँदा ओलीका कारण प्रचण्डले दुख पाएको भन्दै अभिव्यक्ति समेत दिएकी थिईन । ओलीले प्रचण्डलाई जालझेल गरेर पार्टी एकलौटी पारेको भन्दै प्रचण्डको समर्थनमा नेता झाँक्री बोलेकी थिईन जुन कुराको गुन प्रचण्डले अहिले आएर तिर्न लागेको बुझिएको छ ।

    माधव नेपालले नयाँ पार्टी दर्ता गर्ने निर्णय गर्दैगर्दा उनको साथ भएका प्रभावशाली नेताहरु भीम रावलदेखि गोकर्ण बिष्ट सम्मले साथ दिएनन् तर रामकुमारी झाँक्री डटेर साथ दिईन । माधव नेपाल आत्तीएको बेला रामकुमारी झाँक्रीले साथ दिएको कारण अहिले पार्टी दर्ता गर्न सफल भएको नेता नेपाल निकटहरुले भन्न थालेका छन् ।

    को हुन् रामकुमारी झाँक्री ? 

    विसं २०३४ सालमा गुल्मी जिल्लाको मयल पोखरी गाविस-१मा जन्मिएको रामकुमारी झाँक्रीको बाबु आमाको नाम क्रमश: रत्नबहादुर र रनकुमारी हो।

    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष भैसकेकी उनी हाल प्रतिनिधि सभामा नेकपा एमालेको तर्फबाट सांसद छिन् ।

    २०६६ माघ २९ मा धनकुटाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी झाँक्री पछिल्लो समय पार्टीभित्र चर्किरहेको द्वन्दमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आबद्ध छिन्।

    पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गत पुषमा प्रतिनिधिसभा विघटन गरेपश्चात ओलीसँग रुष्ट बनेकी झाँक्रीले त्यसविरूद्द आवाज उठाएर नेपाल पक्षको खम्बाका रुपमा उभिएकी छिन्।

    विद्यार्थी जीबनदेखि राजनीतिमा लागेकी उनी पार्टी भित्र खरो वक्ताका रुपमा चिनिन्छिन्, उसो त उनमा भएको निडरता र सत्यको पक्षमा आवाज उठाउन पछि नहट्ने स्वभावले नै गर्दा लाखौं युवा युवतीहरु उनको फ्यान फलोअर्समा रहेका छन्।

    पछिल्ला दिनहरुमा प्रतिनिधिसभा विघटनपश्चात सडकमा शक्ति प्रदर्शन गर्नेदेखि लिएर संघर्षका अनेकौं कार्यक्रमहरुमा अग्रपंक्तिमा खटिने झाँक्री केही महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालकोट (ओली निवास) पुर्याउछौं भनेपछि प्रहरी हिरासतमा समेत पुगेकी थिइन्।

    उतिबेला ओलीले गरेको असंबैधानिक कदमविरुद्द संघर्ष गर्दै आएको माधव पक्ष यतिबेला पनि संघर्षकै मैदानमा छ। एमालेको माधव पक्षले नै ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो।

    पार्टी एकता र फुटको संघारको दोधारमा रहेको बेला एमाले नेत्री झाँक्री भने ओली प्रधानमन्त्रीबाट हटेर मात्र नहुने भन्दै अध्यक्षबाट पनि राजिनामा नै दिनु पर्ने बताउदै आएकी छिन् । आफ्नो पक्षको माग र पार्टीमा सम्मानजनक स्थान मागेको माधव पक्षले पछिल्लो समय राजधानीमा केन्द्रीय समितिको बैठक आयोजना गरिरहेको छ।

    उक्त बैठकमा पनि कुनैबेला माधव पक्ष भनेर चिनिएका प्रमुख नेताहरु समेत अनुपस्थितहुँदा झाँक्री डटेर लागिपरेकी छिन्। पार्टी एकतामा जोड रहेको तर आफ्नो मागहरु सम्बोधन हुनु पर्ने अडान लिएको माधव पक्षलाई अहोरात्र खटेर साथ दिने रामकुमारी झाँक्री पछिल्लो पुस्ताका एक आइडल छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार