Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहित भक्तपुरमा ‘साँपारु’ पर्व मनाईंदै

    हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहित भक्तपुरमा ‘साँपारु’ पर्व मनाईंदै

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ ।

    भक्तपुरमा आजको दिन अर्थात् गाईजात्रा पर्वलाई ‘साँपारु’ भनिन्छ । सो शब्द गाई र आजको तिथि समेटिएर बनेको हो । साँपारु भक्तपुरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । यहाँ सो पर्वको औपचारिक सुरुआत जनैपूर्णिमाको साँझबाट नै हुन्छ । पर्वका पूर्वसन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै यहाँ साँपारु पर्व शुरु हुने परम्परा छ ।



    यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण पर्वलाई औपचारिकतामा सीमित गर्ने भक्तपुर नगरपालिका र सरोकारवाला निकायले जनाएका छन् । यसैका कारण आइतबार साँझ गाईजात्रा घिन्ताङघिसी नाच नगर परिक्रमा नगरिएको गुठी संस्थान भक्तपुरले जनाएको छ । दरबारस्क्वायरस्थित तलेजु भवानीको साँया (गाईजात्रा) निकालेपछि मात्र सर्वसाधारणले आफ्ना मृतक आफन्तको सम्झनामा साँया निकालिन्छ । सोअनुसार आज बिहान भाले नबास्दै तलेजुको साँया निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।



    भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । यससँगै दिवङ्गतको आत्माको शान्तिको कामना गर्दै निकाल्ने तहामचा जिल्लामा मनाइने गाईजात्राको अर्को आकर्षण हो । यसैले यहाँ गाईजात्रा हेर्न तथा अवलोकन गर्न उपत्यकाका तीन जिल्लाका साथै आसपासका हजारौँ मानिस आउने गर्दछ ।

    धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त लयमा घिन्ताङघिसी नाच करिब एक हात लामो गोलाकार काठको लट्ठी एकापसमा बाजाका तालमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने नाच भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । तहामचा बाँसबाट बनाइन्छ । हरियो करिब १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ । यसलाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । यसमा मृतकको तस्विरसमेत राखिन्छ । यसले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ । यसलाई नगरपरिक्रमा गराउनुपूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्वारा सङ्कल्प गराई विधि विधानअनुसार पूजा गर्ने प्रचलन छ ।

    भक्तपुर कै तालाकोस्थित कुमालेले भने मृतक आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराईन्छ । कुमालेको पुख्र्यौली पेशा माटोका भाडा बनाउनु हो । यसैले उनीहरूले आफ्नै मौलिक पुख्यौली पेशाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराईने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिलासमेत प्रदर्शन गरिन्छ । साथै केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको रुपमा शृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलनसमेत छ ।

    गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास समेत रही आएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्वदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रुपमा विकास भएको उनले बताए । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा डा श्रेष्ठको भनाइ छ ।-रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार