काठमाडौं । भारतीय नागरिकले अपहरण गरेरेर फिरौती मागेका दुई युवालाई प्रहरीले सकुशल उद्धार गरेको छ । तीन दिनअघि मकवानपुरको हेटौंडाबाट अपहरणमा परेका दुई युवालाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतमा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३ गतेदेखि हराइरहेका मकवानपुरको हेटांँडा उपमहानगरपालिका–९ का २३ वर्षीय गोबिन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगरलाई शनिबार राति फेला पारेका हुन् ।
शनिबार राति भारतीय प्रहरीको सहयोगमा मोतिहारीमा फेला पारेको मकवानपुरका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।
अपहरणमुक्त युवालाई आइतबार मकवानपुर ल्याइएको छ । उनीहरुलाई भारतीय नागरिकले अपहरण गरेको र ५ लाख भारु फिरौती माग गरेको डीएसपी रिमालले बताए ।
उद्धार गरिएका युवालाई आफन्तको जिम्मा लगाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपहरणमा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।
डिएसपी रिमालका अनुसार तीन जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर श्रेष्ठ र राना मगरलाई अपहरण गरेका थिए ।अपहणकारीले उनीहरुको आफन्तसँग फोनमार्फत प्रतिव्यक्ति ५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए भने फिरौती नबुझाए उनीहरुको मृगौला बेचिदिने भन्दै यातना दिएको प्रहरीको भनाइ छ ।
Leave a Reply