काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ ।
निर्वाचन आयोगका अनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको तयारी छ ।
आयोगको उक्त तयारीसँगै ‘नेकपा एकीकृत समाजवादी’ सनाखतका क्रममा नेपाल पक्षले २०३ बाटै २० प्रतिशत पुर्याउँदा हुने भएको छ । यस्तै, नयाँ दलले वैधानिकता पाइसकेपछि भने जति जनाको केन्द्रीय कमिटी बनाए पनि त्यसलाई आयोगले मान्यता दिने र अभिलेखमा राखिने आयोगले स्पष्ट पारेको छ । त्यसपछि केपी ओलीले पनि केन्द्रीय कमिटीको सदस्य संख्या बढाउन वा घटाउन पाउने निर्वाचन आयोग स्रोतले बतायो ।
गत मंगलबार भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण दिएको थियो ।
माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ५८ सहित अरू केन्द्रीय सदस्य समेत थपेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
Leave a Reply