एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित निकालेको छ। शपनबार राति भएको खेलमा पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४–२ गोलले हराएको हो।
पिएसजीको जितमा एन्डर हेरेरा, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र एन्जल डि मारियाले गोल गरे। ब्रेस्टका लागि फ्रान्क होनोरट र सिटभ मोउनीले गोल फर्काए।
खेलको २३औं मिनेटमा एन्डर हेरेराको गोलबाट पीएसजीले अग्रता लिएको थियो। उनले केलियन एमबाप्पेको क्रसलाई उत्कृष्ट फिनिसङ गरेका थिए। आक्रामक देखिएको पिएसजीले ३६औं मिनेटमा अग्रता दोब्बर बनायो। यसपटक एमबाप्पेले हेडमार्फत सनसनीपूर्ण गोल गरे।
पहिलो हाफको ४२औं मिनेटमा ब्रेस्टका फ्रान्क होनोराटले रोमेन फाइभ्रेको पासमा गोल गरे। उनको गोलले घरेलु टोली केही हदसम्म खेलमा फर्किएको थियो। दोस्रो हाफको ७३औं मिनेटमा इड्रिसाले गोल गरेपछि पिएसजी ३–१ गोलले अगाडि बढ्यो। उनले एन्डर हेरेराको पासमा गोल गरेका थिए।
खेलको ८५औं मिनेटमा रोमन फाइभ्रेकै पासमा स्टिभ मोउनीले गोल गरेपछि खेल ३–२ को अवस्थामा आयो। घरेलु टोली यसपटक पनि केही सम्हालिएको थियो। तर बलमा पकड बनाउन नसकेको घरेलु टोलीमाथि पिएसजीले थप एक गोल गर्न सफल भयो। इन्ज्युरी समयमा अचरफ हाकिमीको पासमा एन्जल डि मारियाले गोल गर्दै पिएसजीको जित पक्का गरे। यो लिगमा पिएसजीको लगातार तेस्रो जित हो।
यसअघि पीएसजीले ट्रोएसलाई २–१ ले तथा स्ट्रासवर्गलाई ४–२ ले हराएको थियो। जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पिएसजीको ३ खेलबाट ९ अंक रहेको छ।
Leave a Reply