काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्निप्रसाद सापकोटा मिलेर एमाले सिध्याउन लागि परेको आरोप लगाएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता बस्नेतले भने ,‘एमालेलाई कमजोर बनाउने काममा यो सरकार व्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ, बस्नेतले थपे, ‘एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छैन । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’
एमाले सांसद समेत रहेका बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको सुनाए । तर, आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उनले दाबी समेत गरे।
Leave a Reply