एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् ।
उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै सुरु हुनेछ । ब्रिफिङको क्रममा उपस्थित रहेका उप–राष्ट्रपति माइक पेन्सले अमेरिकाले हरेक दिन एक लाख अमेरिकीमाथि परीक्षण गरिरहेको जानकारी दिए । र प्रशासनले उक्त परीक्षणको संख्या बढाउन प्रयास गरिरहेको पनि उनले बताए ।
उनले यूएसएनएस कम्फर्ट (जहाज अस्पताल) बारे पनि जानकारी दिँदै उक्त जहाजका कारण अस्पतालको अतिरिक्त बोझ हटेको उल्लेख गरे । ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्सका डा. एन्थोनी फाउचीले अमेरिकामा मृत्युदर लगातार बढिरहेको भएपनि सामाजिक दुरीजस्ता प्रतिबन्धको सकारात्मक असर अमेरिकामा परिरहेको बताएका छन् ।
कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार ५५६ पुगेको छ ।
अहिलेसम्म अमेरिकामा करिब २५ हजार ९ सय २८ संक्रमित निको भइसकेका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।
Leave a Reply