एजेन्सी । तालिवानले आइतबार अफगानिस्तानमा सत्ता कब्जा गरेपछि त्यहाँका राष्ट्रपति असरफ गनीले देश छोडेर भागेका छन्।
सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो । तर, पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गर्यो। अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार तासकन्द पुगेका हुन्।
यसैबीच, देशछाडेपछि नागरिकहरूलाई सम्बोधन गर्दै गनीले काबुल छाड्नु आफ्ना लागि एउटा कठिन फैसला भएको बताएका छन्।
उनले ‘रक्तपात रोक्नका लागि’ उक्त निर्णय लिएको भन्दै स्पष्टीकरण दिएका छन्। उनले आफू काबुलमा रहँदा रहँदै तालिबान काबुल आइपुग्दा झडप हुन्थ्यो र त्यसले लाखौँ मानिसको ज्यान खतरामा पर्न सक्थ्यो भनेका छन्।
गनीले फेसबुक पोस्टमा लेखेका छन्, ‘आज मैले एउटा कठिन निर्णय गर्नुपर्ने थियो। तालिबान (राष्ट्रपति भवन) मा आउन चाहन्थे, उनीहरूका उभिऔँ वा आफ्नो प्यारो जसको सुरक्षार्थ विगतका २० वर्ष मैले आफ्नो जीवन समर्पण गरेँ त्यसलाई छौडौँ?”
“यदि यस क्रममा अनगिन्ती मानिसहरू मारिन्थे र हामीले काबुल सहरको विध्वंश देख्नुपर्थ्यो भने त्यसबाट ६० लाखको जनसङ्ख्या भएको सहरमा ठूलो मानवीय त्रासदी उत्पन्न हुन्थ्यो।”
उनले तालिबानले हतियारको बलमा विजय हासिल गरेको लेखेका छन्। त्यस्तै उनले अब अफगानहरूको इमान, सम्पत्ति तथा आत्मसम्मानको रक्षाको जिम्मा तालिबानको भएको बताएका छन्।
उनले लेखेका छन्, “तर उनीहरूले मन जित्न सक्दैनन्। इतिहासमा कहिल्यै पनि कसैलाई पनि शक्तिले मात्र यो हक प्राप्त भएको छैन र मिल्ने पनि छैन। अब उनीहरूले एउटा ऐतिहासिक परीक्षाको सामान गर्नुपर्नेछ।”
तालिबानसँगको वार्ताको नेतृत्व गरेका अब्दुल्लाह अब्दुल्लाहले गनी देशबाट पलायन भएको आइतवार नै पुष्टि गरेका थिए। उनले फेसबुकमा एउटा भिडिओ पोस्ट गर्दै गनीको आलोचना गरेका छन्।
को हुन् अशरफ गनी ?
अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए। उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्। उनी देशका चर्चित शिक्षाविद् हुन्।
उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए। अफगानिस्तानमा तालिबान सत्ता गएपछि केही वर्षको युद्धपश्चात् गनी स्वदेश फर्केका थिए।
राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो। तर चाँडै उनलाई क्रुद्ध व्यक्तिका रूपमा पनि चिन्न थालियो।
उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन्। उनलाई तालिबानले सधैँ अमेरिकाको ‘कठपुतली’ का रूपमा चित्रित गर्ने गरेको छ। स्रोत : बीबीसी
Leave a Reply