Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • यस्तो छ अफगान राजदूतकी छोरी पाकिस्तानमा अपहरित हुँदाको ‘नालीबेली’

    यस्तो छ अफगान राजदूतकी छोरी पाकिस्तानमा अपहरित हुँदाको ‘नालीबेली’

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 2K
    SHARES

    एजेन्सी । पाकिस्तानस्थित अफगानिस्तानका राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई जुलाई १६ तारिखमा अज्ञात हतियारधारीहरूले अपहरणको कोसिस गरेका थिए।

    उनलाई ती अपहरणकारीले केही समय नियन्त्रणमा लिएर कुटपिट गरेर भागेको बताइएको थियो। उक्त घटना भएको करिब एक महिनापश्चात् अफगान राजदूतले एक ट्वीट गर्दै आफ्नी छोरीले उक्त मामिलाबारे बोलेको कुरा राखेका छन्। राजदूतले छोरीको फेसबुकको लिङ्क दिएका छन् जसमा उनले आफ्नो परिचयका साथ उक्त दिनको घटनाको विवरण सुनाएकी छन्।



    ‘अपहरणको घटना जुलाई १६ मा भयो। म आफ्नो भाइका निम्ति उपहार किन्न चाहन्थेँ। मैले घरबाट बजार जान भनेर ट्याक्सी डाकेँ। उपहार किनेपछि अर्को ट्याक्सी चढेर घर फर्कन चाहन्थेँ। अपहरणको घटना यही दोस्रो ट्याक्सीमा भयो।’



    उनी भन्छिन्, ‘ट्याक्सी चालकले अर्को एक व्यक्तिलाई पनि ट्याक्सीमा राखे। मैले यसरी अर्को यात्री नराख्न भनेर विरोध गरेँ। त्यतिनैबेला ती दोस्रा व्यक्तिले म तर्फ हेर्दै तिमी अफगान राजदूतको छोरी हो भन्दै मनपरी बोले र कुटपिट गर्न थाले। करिब तीनदेखि पाँच मिनेटसम्म यो सबै भयो र म बेहोस भएँ। होसमा आएपछि मलाई शारीरिक तथा मानसिक रूपमा प्रताडित गरियो। त्यसपछि मलाई घर पुर्‍याइयो र त्यहाँबाट अस्पताल पुर्‍याइयो जहाँ पाकिस्तानका प्रहरी पनि थिए। लगत्तै उनीहरूले जाँचबुझ थाले। उनीहरूले पटक पटक प्रश्न दोहोर्‍याइरहे, मैले पटकपटक उही जवाफ दिइरहेँ।’

    घटनापश्चात् अपनाइएको जाँचबुझ तथा मेडिकल जाँचका तौरतरिकाबारे प्रश्न उठाउँदै सिलसिला अलिखिल भन्छिन्, ‘मलाई प्रताडित गरिएको हुनाले डाक्टरहरूले मेरो राम्ररी हेरविचार गर्छन् भन्ने लागेको थियो। अपहरणका मामिलामा पीडितहरूको शरीरमा विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ ताकि बेहोसीको समयमा के भएका थिए भन्ने जान्न सकियोस्। यसका निम्ति १२ देखि १८ घण्टा बीच रगत परीक्षण हुनुपर्छ। त्यसपछिको परीक्षणबाट थाहा पाउन सकिँदैन। तर मलाई थाहा छैन किन मेरा ती परीक्षण ठीकसँग गरिएनन्।’

    त्यसबेला डाक्टरहरूले पनि घटनाको विवरणबारे सोधेको र त्यसले आफू आश्चर्यमा परेको उनले बताइन्। प्रहरीसँग पटकपटक घटनास्थल पुगेर विवरण दिएको उनको भनाइ छ। लगत्तै आफू टर्की गएको र घटनाको तीन–चार दिनपछि त्यहाँ सबै महत्त्वपूर्ण जाँच ठीक तरीकाले गरिएको उनले बताएकी छन्।

    ‘अहिले शारीरिक रूपमा म ठीक छु तर मानसिक रूपमा ठीक हुन अझै समय लाग्छ किनभने अझैपनि हरेक रात म अचानक दुई तीनपल्ट ब्युँझन्छु र त्यतिखेर लाग्छ म उही घटनास्थलमा छु।’

    उनले यस घटनासँग एक युवा अफगानको गरिमा, उनको परिवारको गरिमा, उनको देश अफगानिस्तानको गरिमासमेत जोडिएको हुनाले अफगान सरकारलाई यो मामिला गम्भीरतापूर्वक लिन आह्वान समेत गरेकी छन्।

    पाकिस्तानी अधिकारीहरूलाई पनि इमानदारीका साथ यसको छानबिन गर्न र अपराधीलाई ढिलो नगरिकन पक्राउ गरी सजाय दिलाउन उनले आह्वान गरेकी छन्।

    पाकिस्तानको प्रहरीले यसअघि अफगानिस्तानका राजदूतकी छोरीलाई अज्ञात हतियारधारीहरूले अपहरण गर्ने कोसिस गरेको तर सफल हुन नसकेपछि हिंसा गरेर भागेको बताएको थियो।

    अफगान राजदूतकी छोरीको अपहरणको घटना त्यतिखेर भएको छ जतिखेर पाकिस्तान र अफगानिस्तानका नेताबीच तनाव बढिरहेको छ।

    अफगानिस्तानले पाकिस्तानमाथि तालिबानलाई सहयोग गरेको आरोप लगाएको छ। दुई देशका नेताबीच वाकयुद्ध पनि चलेको छ।

    जुलाईमा मध्य तथा दक्षिण एसिया सम्पर्क सम्मेलनका बेला अफगानिस्तानका राष्ट्रपति अशरफ गनी छिमेकी देश पाकिस्तानका प्रधानमन्त्रीसँग केही फिटको दूरीमा उपस्थित थिए। पाकिस्तानमाथि निशाना लगाउँदै त्यतिखेर उनले पाकिस्तानले चरमपन्थी समूहसँग सम्बन्ध नतोडेको बताएका थिए।

    गनीको बयान लगत्तै बोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ती आरोपबाट आफू निराश भएको बताएका थिए। (बिबिसी नेपाली)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार