Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • मेसी–नेयमार मित्रता : एक लगाइरहेको जर्सी दिन तयार, अर्कोले लिन मानेनन्

    मेसी–नेयमार मित्रता : एक लगाइरहेको जर्सी दिन तयार, अर्कोले लिन मानेनन्

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध भएपछि अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र ब्राजिलियन फरवार्ड नेयमार जुनियरबीच ‘रियुनियन’ भएको छ। बार्सिलोनामा केही वर्ष सँगै फुटबल खेलेका उनीहरु मिल्ने साथी हुन्।

    हुन त नेयमार कीर्तिमान रकममा बार्सिलोना छाडेर पिएसजी गए पनि उनीहरुको मित्रतामा कमी आएको थिएन। उनीहरु निरन्तर सम्पर्क र डिनर पार्टीहरुमा जुटिरहेका थिए।



    पेरिस पुगेका नेयमारलाइ मेसी पुनः बार्सिलोनामा फर्काउन चाहन्थे। नेयमारले पनि पुनः मेसीसँगै फुटबल खेलेर रमाउन चाहेको बताए। यसका लागि बार्सिलोनाले प्रक्रिया पनि चालेको थियो। विस्तारै यो विषय सेलायो।



    अन्ततः मेसी नै पिएसजी पुगे। नेयमार र उनको पुनर्मिलन पेरिसमा भयो। लियोनल मेसीले बार्सिलोनामा रहँदा एक दशकभन्दा बढी जर्सी नम्बर १० लगाए। जर्सी नम्बर १० ‘मेसी ब्राण्ड’जस्तै थियो। बार्सिलोनामा जर्सी नम्बर १० को विशेष महत्त्व छ। क्लब इतिहासलाई हेर्ने हो भने उक्त जर्सी उत्कृष्ट खेलाडीले लगाउँदै आएका थिए। मेसीले जर्सी नम्बर १० लाई नयाँ उचाइमा लगे।

    मेसी र पिएसजी सम्झौताको छलफलमा जुटिरहेका बेला जर्सी विषयले पनि चर्चा पायो। स्टार खेलाडी नेयमार जर्सी नम्बर १० को प्रयोग गरिरहेका छन्। यस्तोमा मेसीले कति नम्बरको जर्सी लगाउलन् भन्ने अनुमान भइरहेका बेला नेयमारले आफूले प्रयोग गर्दै आएको जर्सुी मेसीले दिने बताए।

    यससँगै मेसीले जर्सी नम्बर १० नै लगाउने पक्कापक्कीजस्तो देखियो। तर, मेसीले पिएसजीमा नेयमारले लगाइरहेको जर्सी लिन अस्वीकार गरे। बरु उनले क्लबलाई त्यसको विकल्प सोच्न आग्रह गरे। यता, नेयमार आफ्नो साथीको ‘ब्राण्ड’जस्तै बनिसकेको जर्सी उनलाई दिन एकैपटक तयार भए। उता, मेसी आफ्नै साथीले प्रयोग गर्दै आएको जर्सी लिन तयार भएनन्। यसले मेसीप्रति नेयमार मोह अनि नेयमारप्रति मेसी मोह झल्किएको छ।

    यसलाई उनीहरुबीचको गहिरो दोस्तीको नमुना मानिएको छ। अब मेसीले क्लबमा जर्सी नम्बर ३० लगाउने भएका छन्। बार्सिलोनामा फुटबल करियरको शुरुवात गर्दा उनले ३० नम्बरको जर्सी लगाएका थिए। करियरले नयाँ उचाइ लिँदै गर्दा पछि उनले १९ नम्बरको जर्सी लगाएका थिए। यसकारण १९ नम्बरको जर्सी लगाउने अनुमान पनि गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार