Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कुलमानले आज पदबहाली गर्दै, हितेन्द्रदेव गिरोहको शरणमा

    कुलमानले आज पदबहाली गर्दै, हितेन्द्रदेव गिरोहको शरणमा

    अनलाइन नेपाल
  • बुधबार, २७ साउन २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । दैनिक १८ घण्टाको लोडसेडिङबाट मुक्त गराएर जनस्तरमा हाइहाइ कमाएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आज पुनः प्राधिकरणमै पदबहाली गर्दैछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई गराएकाले मन्त्रालयले आज (बुधबार) घिसिङलाई नियुक्ति पत्र दिन लागेको हो ।



    नेपालमा लोडसेडिङ हटाउन मात्र नभई सँधै घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै घिसिङलाई पुनर्नियुक्ति गराएका हुन् ।



    प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच घिसिङलाई पुनर्नियुक्ति गर्ने सहमति भएको थियो । घिसिङले आफ्नाे  कार्यकालमा सुरु गरेका धेरै आयोजनाहरु प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अगाडि बढाउन नसकेको र  प्राधिकरण फेरि पहिलेकै अवस्थामा फर्किने जोखिम हुने ठहर गर्दै घिसिङलाई सरकारले फेरि मौका दिन लागेको हो ।

    यता, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भने पदबाट बर्खास्तमा परेपछि अबैध कल वाइपासका गिरोहको शरणमा पुगेका छन् । गत साउन १९ गते नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न गरेको आग्रहलाई अस्वीकार गरेका शाक्य अबैध कल वाइपासका गिरोह मनिन्द्र मल्लको शरणमा पुगेका हुन् ।

    शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गरेको जनाइएपनि अझै त्यसको पुष्टि हुन सकेको छैन ।

    मनिन्द्र मल्लको सल्लाहमा शाक्य सर्वोच्च अदालत जाने तयारी गरेको शाक्य निकट स्रोत बताउँछ । मल्लले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका भाई प्रभु राणासँग सेटिङ मिलाइदिने र अदालतले न्याय दिने आश्वासन दिएर शाक्यसँग मोलमोलाई गरिरहेको समेत स्रोतको दावी छ ।

    मल्ल तिनै व्यक्ति हुन्, जो कुनै समय अबैध कल बाइपासमा पक्राउ परेका थिए । तिनै मल्ललाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको पैसा उठाउन खटाएको स्रोतको दाबी छ । स्रोतका अनुसार मल्लले प्राधिकरणमा हुने ठेक्का प्रक्रियामा सेटिङ मिलाउनेदेखि ओली प्रधानमन्त्री हुँदा बालुवाटारका लागि आर्थिक संकलन गर्दै आएका थिए ।

    कर्मचारीको सरुवा, फाइल कोटेशन र टेन्डरदेखि लिएर आयोजनाका पिपिएमा चलखेल गर्ने मल्लले हितेन्द्रको पद थमौती गर्न आफै क्रियाशिल भएर लागेका थिए ।

    मल्ल अझै पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बिशेष सम्बन्ध रहेको दाबी गर्दै शाक्यलाई पद थमौतीको आश्वासन दिइरहेका थिए । यद्यपी प्रचण्डसँगकै सहमतिमा कुलमानलाई प्रधाकिरणको जिम्मा दिने निर्णय भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार