Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नक्कली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ परेका रोनाल्डिन्हो धरौटीमा छुटे

    नक्कली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ परेका रोनाल्डिन्हो धरौटीमा छुटे

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.3K
    SHARES

    सान लोरेन्जो : नक्कली राहदानी प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका चर्चित फुटबलर रोनाल्डिन्हो र उनका भाइ रोबर्टो कारागारबाट मुक्त भएका छन्। ब्राजिलियन फुटबलस्टार रोनाल्डिन्हो र उनका भाइ रोबर्टोलाई गत मार्चमा पाराग्वेको नक्कली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो।

    उक्त आरोप प्रमाणित भएपछि ३२ दिनदेखि उनीहरू पाराग्वेको कारागारमा थिए। न्यायाधीश गुस्ताभो अमारिल्लाले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। ४० वर्षीय रोनाल्डिन्हो र उनका भाइलाई १६ लाख अमेरिकी डलर धरौटी लिएर कारागारबाट मुक्त गरिएको हो।



    रोनाल्डिन्होका कानुन व्यवसायीले धरौटी रकम बुझाएका थिए। उक्त मुद्दाको कारबाही भने आगामी दिनमा पनि जारी रहनेछ। विभिन्न व्यावसायिक प्रवद्र्धन कार्यक्रममा सहभागी हुन रोनाल्डिन्हो र उनका भाइ पाराग्वेको नक्कली राहदानी प्रयोग गरी त्यहाँ पुगेका थिए। उनीहरू पाराग्वेको रिसोर्ट याच एन्ड गल्फ क्लबबाट पक्राउ परेका थिए।



    रोनाल्डिन्हो आफ्नो समयका चर्चित खेलाडी हुन्। उनी ब्राजिलको राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन्। उनले विश्वका चर्चित क्लबहरूबाट व्यावसायिक फुटबल पनि खेलेका थिए। रोनाल्डिन्होले सन् २००३ देखि सन् २००८ सम्म स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट पनि व्यावसायिक फुटबल खेलेका थिए।

    रोनाल्डिन्होका कानुन व्यवसायीले उनलाई पाराग्वेकै एक व्यापारिक प्रतिष्ठानले आफ्नो कार्यक्रममा उपस्थित हुन पाराग्वेको राहदानी उपलब्ध गराएको दाबी गरेका छन्। ‘आफ्नो कार्यक्रममा उपस्थित हुन पाराग्वेकै एक व्यापारिक प्रतिष्ठानले रोनाल्डिन्हो र उनका भाइ रोबर्टोलाई राहदानी उपलब्ध गराएका हुन्। रोनाल्डिन्होबाट अञ्जानमा यस्तो गल्ती भएको हो’, उनका कानुन व्यवसायीले अदालतमा भनेका छन्।

    पाराग्वेको कारागारमा रहँदा पनि रोनाल्डिन्होले फुटबलसम्बन्धी विभिन्न गतिविधिमा भाग लिएका थिए। उनले कारागारभित्रै फुटबलको नियमित अभ्याससमेत गरेका थिए। कारागारमा उनले अन्य कैदीसँग मिलेर फुटबल खेलिरहेको थुप्रै तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो।

    फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालियन क्लब एसी मिलानबाट समेत व्यावसायिक फुटबल खेलेका रोनाल्डिन्हो ब्राजिलले सन् २००२ को विश्वकप जित्दा पनि टोलीको महत्‍वपूर्ण सदस्य थिए। उनले विश्वकै सर्वोत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने बालोन डी ओर अवार्ड पनि जितेका थिए।

    यसदेखि बाहेक उनले फिफा वर्ष खेलाडी पुरस्कार पनि जितेका थिए। रोनाल्डिन्होसँग हाल ब्राजिलको राहदानी छैन। सन् २०१८ मा संरक्षित क्षेत्रभित्र रहेको एउटा तलाउमा जाल हानेको आरोपमा उनलाई देश छाड्नबाट रोक लगाएको थियो। ब्राजिलबाहेक उनीसँग स्पेनको राहदानी पनि थियो। तर, हाल उनको त्यो राहदानी पनि खोसिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार