काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बसेको छ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेबाट सुरु भएको बैठकले यसअघि बनाइएको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी रहेको कार्यदलका सदस्य–सचिव केशवराज जोशीले बताए ।
कार्यदलको यसअघिको बैठकले सरकारका प्राथमिकता र मन्त्रीहरूका लागि आचारसंहिता बनाएको थियो।
पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ ।
साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ ।
Leave a Reply