काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारलाई परमादेशबाट बनेको भनी नेकपा एमालेका सांसदले गरेको टिप्पणीप्रति राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले आक्रोश पोखेका छन्।
बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद बिडारीले परमादेशका कारण संसद ब्युँतिएर तलब भत्ता खान पाएका सांसदहरुले परमादेशकै विरोध गर्नु उचित नहुने बताए ।
‘परमादेशे सांसदहरु, परमादेशका कारण अधिकार र सुविधा ग्वाम–ग्वाम लिएर खाइरहेका हामी सांसदहरु अनि परमादेशलाई श्राप ? अनि परमादेशका विरुद्ध यत्रा कुरा ?’ उनले भने ।
नेकपा एमालेका सांसदहरुले अहिलेको सरकार परमादेशबाट बनेको टिप्पणी गर्दै आइरहेको बेला बिडारीले त्यसको प्रतिवाद गर्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको कागज हेर्न आग्रह गर्दै भने ‘प्रधानमन्त्रीलाई नियुक्ति राष्ट्रपतिले गरेको हो । राष्ट्रपतिलाई बेइज्जत गराउने सांसद हो कि होइन ?’ उनले प्रश्न गरे, ‘सांसदहरु मिलेर राष्ट्रपतिले गरेको कागजको विरुद्धमा परमादेशबाट भयो भनेको छ । हेर्ने त प्रमाण ? हेर्ने त नियुक्ति ?’
गत असारमा कांग्रेस सभापति देउवालाई सर्वोच्चमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
Leave a Reply