Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

    टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 3K
    SHARES

    एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

    अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् ।



    अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ । बेलायत तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ ।



    यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक रजत र तीन कास्यका साथ सातौँ, कोशोभो दुई स्वर्ण जित्दै आठौँ, इटाली एक स्वर्ण, तीन रजत र चार कास्यसहित नवौँ तथा फ्रान्स एक स्वर्ण, दुई रजत र दुई कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ ।

    टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५० देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तिमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेका छन् । दुवै जना पराजित भएका छन् ।

    परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

    शाहले आज, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार