काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । यसअघि नेपाल पक्षका सांसदहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने/नदिनेबारे कानुन व्यवसायीसँग परामर्श गरेका थिए।
बुधबार नेपाल पक्ष अनुपस्थित रहेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकको निर्णयबाट अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । जुन समय आज केही छिनपछि घर्किदै छ।
नेपाल पक्षका सांसद मेटमणि चौधरीले स्पष्टीकरणको जवाफ राजनीतिक रूपमा दिनु जरुरी नभएपनि कानुनी प्रक्रियालाई मध्यनजर गर्दै कानुन व्यवसायीसँगको छलफलपछि दिन लागिएको बताए।
स्पष्टीकरण सोधिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन्।
Leave a Reply