मकवानपुर । हेटौडाकी उपमहानगरपालिका ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि ८ वर्ष कैद सजायको फैसला भएको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको इजलासले भारतीय नागरिक ४० वर्षीय दीलिपराज केशरीलाई ज्यान मार्ने उद्योगअन्तरगत ८ वर्ष कैद र १ करोड १४ लाख रुपैंया जरिवानाको फैसला गरेको हो।
अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैंया क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका तहसिलदार तुल्सी लामिछानेले बताए। त्यस्तै, एसिड आक्रमणको मतियारको रुपमा आरोपी सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैंया जरिवानाको फैसला गरेको छ।
घटना भएको साढे छ वर्षपछि कात्तिक १४ गते केशरीलाई प्रहरीले पक्राउ गरेको थियो भने त्यसको १० दिनपछि अर्का अभियुक्त मण्डल पनि पक्राउ परेका थिए।
भारतको उत्तर प्रदेश, महाराजगंज जिल्ला, अमरपुर्वन वडा नम्बर ६ का केशरीले हेटौंडा उपमहानगरपालिका ३, मेनरोडकी विन्दवासिनी कंसाकारलाई २०७० बैशाख ९ गते पसलमा एसिड प्रहार गरी फरार भएका थिए। एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पनि पक्राउ गरिएको थियो।
एसिड प्रहारबाट पीडित भएकी कंसाकारले केशरीलाई हदैसम्मको सजायँ र उपचार खर्च पाउनुपर्ने माग गर्दै आएकी थ्इिन्। ‘बुवाले ८० लाख भारतीय रुपैंया बढी खर्च गर्नुभएको छ,’ उनले भनिन्।
एसिड आक्रमण भएपछि उनको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार भैरहेको छ। बैंक ऋण लिएर उपचार गराएको र तिर्न नसक्दा बुवाको नाम कालो सूचीमा निकालेको भन्दै उनले दुःखेसो पोखिन्। ‘उपचार खर्च नै मासिक २० हजार रुपैंया भन्दा बढी छ,’ उनले भनिन्, ‘सरकारबाट अहिलेसम्म कुनै सहयोग पाएको छैन।’
किन भयो एसिड आक्रमण ?
२०७० सालमा विन्दवासिनीले २० वर्षकी थिइन्। स्थानीय कलेजमा कक्षा १२ मा पढ्दै थिइन्। एकदिन विन्दवासिनीको फुपुको छोराको विवाह थियो। त्यहाँ उनको पहिलो भेट एक युवकसँग भयो, नाम थियो राज भन्ने दिलीपराज केशरी।
फुपुको घरमा गइरहने विन्दवासिनीको केशरीसँग भेट पनि भइरहन्थ्यो। बिस्तारै विन्दवासिनीको पसलमा केशरी आउ–जाउ बाक्लिन थाल्यो। कलेज जाँदा, ट्युसन जाँदा बाटो कुरेर बसी केशरीले विन्दवासिनीलाई पछ्याउँदै बारम्बार फोन गर्न थाले।
केशरीले एकदिन विवाहको प्रस्ताव राखेको विन्दवासिनीको दाबी छ। उनका अनुसार विवाह नगर्ने भन्दै उनले केशरीलाई सम्झाउने प्रयास पनि गरिन्। तर केशरीले दिनहुँ पटक–पटक भेट्ने र विवाहको प्रस्ताव स्वीकार्न दबाब दिन थाले।
एकदिन बिहानै पसलमा बिन्दवासिनीलाई भेट्न केशरी आए। केशरीलाई बिन्दवासिनीका बुबा मधुसुधनले राम्रोसँग सम्झाए पनि। बैशाख ९ गते विन्दवासिनीको आमा–बुवाको विवाह उत्सवलाई धुमधामले मनाउने तयारी थियो।
त्यसदिन पसलमा विन्दवासिनी बसिरहेकी थिईन्। केशरी आएपनि उनले वास्ता गरिनन्। हातमा बट्टा बोकेका केशरी हँसिलो अनुहार पारेर अन्तै गए। एकैछिन् पछि हातमा त्यही बट्टा बोकेर पसलको टेबलमै आए, केशरी।
‘यो मह घरमा देउ ल’ भन्दै केशरीले बट्टाको बिर्को खोले। एक्कासी मह भनिएको वस्तु विन्दवासिनीको अनुहारमा छ्यापे र केशरी त्यहाँबाट भागे।आजको नागरिक दैनिकबाट
Leave a Reply