काठमाडौं । ललितपुरको सानेपामा एक भारतीय नगारिकको हत्या भएको छ । शुक्रबार राती नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, प्रहरीले भने आज मात्रै चाल पाएको हो ।
विगत २० वर्षदेखि नेपालमा बस्दै आएका भारतीय नगरिक सत्यनारायण पारिकको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ । पारिक घटना भएको घरको माथिल्लो तलामा विगत १२ वर्षदेखि बसिरहेका थिए । पारिक इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित पसलमा मार्केटिङको काम गर्ने पनि खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा एक्लै बस्दै आएका उनलाई हम्मर प्रहार गरेर हत्या गरेको देखिन्छ । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार भारत, राजस्थानका ५९ वर्षीय पारिकले शुक्रबार साँझपछि कसैसँग सम्पर्क गरेको नदेखिएकाले घटना पनि शुक्रबार रातिकै हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यद्यपी प्रहरी भने घटनास्थलमा आज विहान मात्रै पुगेको हो ।
प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर र फरेन्सिक विज्ञलाई पनि घटनास्थलमा लगेको थियो भने नजिकै रहेका सीसी टीभी क्यामराका फुटेज पनि हेरिरहेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्ने ललितपुर प्रहरीले जनाएको छ ।
Leave a Reply