Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • सिरहा, धनुषा र महोत्तरीमा १६ दिन निषेधाज्ञा लम्ब्याइयो

    सिरहा, धनुषा र महोत्तरीमा १६ दिन निषेधाज्ञा लम्ब्याइयो

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । प्रदेश २ को सिरहा, धनुषा र महोत्तरीमा पुनः निषेधाज्ञा लम्ब्याइएको छ । सिरहामा निषेधाज्ञाको समय १६ दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञाको समय असार ३१ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिए ।



    उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।



    यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला सैलुन र होटलबाहेकका पसल, व्यवसाय बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ कँणेलले बताए ।

    यस्तै धनुषामा खुकुलो बनाएर थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

    धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारी साधनबाहेक जिल्लाभरि सार्वजनिक सवारी साधन चलाउन पाइने उनले बताए ।

    अब धनुषामा सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।

    यसैगरी महोत्तरीमा निषेधाज्ञाको समय एक साता थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञाको समय असार २३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

    जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार थप एक साता निषेधाज्ञाको अवधि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

    पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस अवधिमा अत्यावश्यक वस्तुका पसल अब बिहानदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् । यसअघिको पछिल्लो आदेशमा दिउँसो ३ बजेसम्म यस्ता पसल सञ्चालनको अनुमति थियो । त्यसैगरी अब जिल्लाभरि मात्र सार्वजनिक यातायातका साधन स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुनसक्ने आदेशमा उल्लेख छ ।

    पछिल्लो आदेशमा विद्यालयहरु कार्यालय प्रयोजनका दैनिक प्रशासनिक कामका लागि खुल्नेछन् तर विद्यार्थी भने अझै विद्यालय नआउने स्पष्ट खुलाइएको छ । सङ्क्रमणमा सुधार देखिए पनि अझै जोखिम कायम नै देखिएको हुँदा थप एक साता निषेधाज्ञा अवधि थपिएको आदेशमा उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार