काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुले आन्दोलन फिर्ता लिएका छन्।
आज नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएपछि आन्दोलन फिर्ता भएको हाे ।
संघका अध्यक्ष ईश्वर लामाका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । उनीहरूलाई बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएकाे छ ।
आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।
Leave a Reply