काठमाडौं । विघटित संविधानसभाका सभामुख अग्नि सापकोटाले गणतन्त्र र संविधानमाथि नै संकट आइपरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गराएकोप्रति संकेत गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले भनेका छन्–‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त छौं । यस विषम परिस्थितिमा अझ जिम्मेवारीवोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ ।’
नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउँदै उनले सन्देशमा गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको समेत उल्लेख गरेका छन् ।
Leave a Reply