काठमाडौं । आफ्नो सत्ता टिकाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मध्यरातमा जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसित गोप्य सम्झौता गरेका छन् ।
प्रधानमन्त्री ओलीले सम्झौताका लागि राति ११ बजे ठाकुर र महतोलाई बालुवाटार बोलाएका थिए । संविधान संशोधनका लागि तीनै जनाबीच सहमति भएको श्रोतले बतायो ।
यसअघि नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति भएको छ। सम्झौता के के कुरामा भयो भन्ने आज दिउँसोसम्म सार्वजनिक हुने जसपाका एक नेताले बताए ।
ठाकुर र महतोले विभिन्न माग राखी यसअघि नै ओलीलाई समर्थन गरेको हो । अहिलेको राजनीतिक उथलपुथलका बेला ठाकुर र महतो जसरी पनि आफ्ना सबै माग पुरा गराउन लागि परेका छन् ।
ओली पनि जस्तोसुकै माग भएपनि पुरा गरी आफ्नो सत्ता लम्ब्याउने मनस्थितिमा छन् । प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने निर्णय गर्न अहिले जसपाको संसदीय दलको बैठक बसिरहेको श्रोतले बतायो ।
बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई सहभागी छैनन् । दुवै जना जसरी पनि ओलीको विकल्प खोज्नुपर्नेमा लागेका छन् । अझ यादव र भट्टराई त ठाकुरलाई प्रधानमन्त्री बनाउन लागि परेका छन् ।
ओलीको सत्ता लम्बिन्छ वा देशले नयाँ प्रधानमन्त्री पाउँछ भन्नेबारे आज साँझ ५ बजेसम्म भने कुर्नैपर्ने हुन्छ ।
Leave a Reply