Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कलाकारको लकडाउन अनुभव

    कलाकारको लकडाउन अनुभव

    अनलाइन नेपाल
  • बिहिबार, २० चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारी फैलिरहेको बेला संसारभरका आधा मानिस होम क्वारेन्टाइनमा छन्। ४१ हजार मानिसले ज्यान गुमाइसके। महामारी बढ्दो क्रममा छ। संक्रमणको डरले पनि धेरैजसो देशमा लकडाउन लागू भइसकेको छ। सधैं व्यस्त रहने कलाकार, गायक, रंगकर्मी, तथा अन्य पेसाकर्मी अहिले फुर्सदमा छन्। आफ्नो स्वास्थ्य सुरक्षाका लागि धेरैले लकडाउन कडाइका साथ पालना गरेका छन्।

    खाना पकाउन सिक्दैछु
    प्रमोद खरेल (गायक)



    पहिल्लो ५/६ महिनादेखि म मेला, पर्व, कन्सर्टमा व्यस्तै थिएँ। प्रायः बाहिरै हुने भएकाले चाडपर्व, पूजाआजा तथा घरका कार्यक्रममा म छुट्ने गर्छु। मेरो प्रस्तुति हेर्न बालबच्चा बोकेरै परिवारैसहित धेरै दर्शक आउनुहुन्छ। तर मेरो बच्चा घरमा एक्लै परिरहेको हुन्छ। बाध्यताले नै सही यो लकडाउनको समयमा म पूर्णतया परिवारसँग रमाइलो मानिरहेको छु।



    जिन्दगीकै पहिलोपटक लकडाउनको अनुभव गरिरहेको छु। यो मेरो स्वास्थ्य सुरक्षाको लागि हो भन्ने लाग्छ। म मात्रै हैन संसारभरका कलाकार, गायक गायिका होम क्वारेन्टाइनमा छन् त्यसैले पनि खासै नरमाइलो लागेको छैन। जिन्दगी रह्यो भने काम गर्न, गीत गाउन फेरि पनि सक्छु जस्तो लाग्छ। सामाजिक सञ्जालमा विश्वभरका घटना र समाचारमा अपडेट भइरहन्छु। यसले गर्दा पनि मलाई कोरोना भाइरसलाई नजिकबाट हेरिरहेको छु। आफू जोगिनुपर्छ, आफ्नाहरूलाई जोगाउन पर्छ भन्ने लाग्छ।

    परिवारसँगै बस्दा कति महत्‍वपूर्ण पलहरूलाई मैले छुटाएको रैछु भन्ने बोध हुने रहेछ। घरको काममा सहयोग गरिरहेको हुन्छु। किचनको काम गर्न आउन्नथ्यो। सिक्दैछु, केही न केही पकाएर खुवाउन पाउँदा आनन्द लाग्छ।

    व्यस्तताले गर्दा प्रशस्तै रियाज गर्न, प्राक्टिस गर्न समय मिलेको थिएन्। तर अहिले धीत मरुन्जेल रियाज गरिरहेको छु। लाग्ने कर्दलाई पनि बेलाबेलामा धार लगाइरहनुपर्छ त्यस्तै स्वरलाई अझ राम्रो बनाउन प्राक्टिस गर्न जरुरी छ। किताब पढ्नु मेरो रुचिको विषय हो। फुर्सद भयो कि किताब समाइहाल्छु। सामाजिक विषय, ऐतिहासिक विषय मेरो रोजाइमा पर्छन्। फिल्म पनि मुडअनुसारको रोजेर हेर्ने गर्छु। यात्राको दौरानमा पनि किताब पढ्ने, फिल्म हेर्ने आदत भएकाले होला अहिलेको समय परिवारमै व्यस्त हुन खोजिरहेको छु।

    कोरोना भाइरसको महामारी फैलिरहेको बेला सरकारले छिटो छरितो रूपमा काम गर्नुपथ्र्यो। त्यो हुन सकेको छैन। पूर्वतयारी पुगेको छैन। संक्रमण भएकाहरूले तुरुन्तै उपचार पाउने व्यवस्था नभएकाले पनि जोखिम बढी छ। बलिउड कलाकारले सरकारलाई सहयोग गरे नेपाली कलाकार घरभित्रै सीमित भए भनेर अहिले कलाकारलाई बदनाम गर्न खोजिएको छ। यो गलत हो। हामी आफैं फिल्डमा गएर सहयोग गर्न सक्ने अवस्था छैन। सरकारी कोषमा जम्मा गरेको रकम सम्बन्धित परिवारमा पुग्छ भन्ने कुनै ग्यारेन्टी छैन। कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण खरिदमै करोडौं भ्रष्टाचार गरिएको भन्ने सुन्नमा आएको छ। यस्ता समाचारले हामीलाई दुःखी बनाउँछ। नेता तथा मन्त्रीहरूले परिस्थितिजन्य अवस्था त ख्याल गर्नुपर्छ।

    भूकम्पको बेला होस् कि बाढी पसेको बेला होस कलाकारहरू सधैं हत्केलामा ज्यान राखेर सहयोग गरिरहेकै हुन्। मलाई लाग्छ सरकारी कोषमा रकम जम्मा गर्न धेरैलाई विश्वास नभएर अन्य कलाकारले पनि सहयोग नगरेका होलान्। कलाकार मात्रै किन नेपालमा पनि धेरै व्यापारी तथा अर्बपति छन् उनीहरूले पनि सरकारलाई सहयोग गरेको खबर सुनिएको छैन। उचित व्यवस्थापन गर्न सके राज्य सञ्चालन गन पुग्ने रकम राज्यसँगै छ।

    फुर्सदको समय सबैले सदुपयोग गरौ। बच्चाहरूलाई व्यावहारिक ज्ञान सिकाऔ। हामी पनि पुस्तक पढ्ने, घरको काममा सघाउने गर्न सक्छौ। लकडाउनको समयलाई प्रभावकारी रूपमा बिताउने कोसिस गरौं।

    युट्युब हेरेर नयाँ परिकार
    दिया मास्के (कलाकार)

    घरमा बस्न मन पराउने बानी छ मेरो। फिल्म हेर्ने, किताब पढ्ने, परिवारसँगै रमाइलो गर्ने गरेरै लकडाउनको समय सदुपयोग गरेकी छु। पहिलेपहिले किचनमा काम गर्न जान्दिनथें तर अहिले युट्युब हेरेरै पनि नयाँनयाँ परिकार बनाउन सिक्दैछु। अहिले अनलाइनमै सिक्न पाइने हुँदा सजिलो पनि छ।

    सरकारले लकडाउन गर्नु भनेको हाम्रै स्वास्थ्य सुरक्षाको लागि हो। बाहिर निस्किँदा कोरोना भाइरसको संक्रमणको जोखिम हुने भएकाले पनि घरमा कसरी रमाइलो गर्न सकिन्छ कोसिस गरिरहेकी छु। दिनभरि नै व्यस्त हुन्छु म। घरको काममा अनुपजीले पनि सघाउनु हुन्छ। नजिकै बुवाआमाको घर भएकाले त्यहाँ पनि काम सघाउनु मेरो जिम्मेवारी हो। केही समयअघि रोडिजका कारणका पनि केही महिना अति व्यस्त थिए। अहिले घरमै रिफ्रेस भएकी छु।

    मेरो घर पोखरामा भएकाले पनि यहाँको प्राकृतिक सुन्दरता अति राम्रो छ। छतबाट बाहिर टहलाउँदा पनि रमाइलो लाग्छ। समय रहेमा आख्यान तथा कथा पढ्ने बानी छ। फिल्म हेर्दा पनि कसरी फिल्म बनाइरहेको छ? स्टोरी टेलिङ प्रक्रिया कस्तो छ ? पर्फमेन्स शैलीलाई कसरी प्रयोग गरेको छ यी पक्षमा ध्यान दिन्छु।

    कति धेरै समय हुनेरैछ बुझें
    सरिता गिरी (कलाकार)

    करिब दुई हप्तादेखि घरभित्रै लकडाउनमा छु म। बिहान उठेर करिब डेढ घण्टा त योगा ध्यान नै गरिरहेकी हुन्छु। यसले शरीर मात्रै हैन मनलाई पनि शान्त बनाउँछ। पहिलो पटक लामो समय घरमा बसेकाले मैले हामीसँग कति धेरै समय हुनेरैछ बुझ्ने मौका पाएकी छु। हामीसँग समय नभएर हैन व्यवस्थापन गर्न नजानेर आवश्यकताभन्दा बढी व्यस्त बन्ने गर्छौं। दिनभर घरमा बस्दा धेरै काम गर्ने समय पाइने रैछ। घरभित्रको काम नदेखिने तर दिनभर गरिरहे पनि नसकिने रैछ। परिवारलाई काम सघाउँदा आनन्द लाग्ने रैछ।

    रोमान्टिक लभ स्टोरी, ऐतिहासिक उपन्यास तथा पछिल्लो समयका किताब पढिरहेकी छु। अन्य बेलाभन्दा पनि यो बेला फिल्म बढी हेरिरहेकी छु। समय नै पुग्दैन मलाई। कोरोना भाइरसको जोखिमका कारण, आफ्नै लागि पनि बाहिर निस्कन मन लाग्दैन। केही समय हामी घरभित्रै बसेर सरकारलाई सहयोग गर्‍यो भने महामारी नियन्त्रण हुन सक्छ। यसैले पनि लकडाउनलाई पूर्णतया पालना गरौं भन्न चाहन्छु।

    केही समयअघि आमा फिल्ममा अभिनय गरेकी थिएँ। यो कामको लागि मैले दर्शकको माया र सकारात्मक प्रतिक्रिया पाए। कामको चापाचाप थियो। यसैले पनि घर बस्ने फुर्सद थिएन। अहिले निकै रमाइलो लागिरहेको छ। म बाहिर जान पाइनँ भनेर सोच्नुभन्दा पनि म घरभित्र बस्दा सुरक्षित छु भन्ने सोच्नु जरुरी हुन्छ। अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार