काठमाडौं । भक्तपुरको एक रिसोर्टमा बसेर जनता समाजबादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले आफूलाई संसदीय दलको नेता बनाएको भोलीपल्ट अर्थात आज बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ।
जसपाका कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिहाक राइले राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी गराइरहँदा ठाकुर–महतो निकट जसपा कार्यकारिणी सदस्य केशव झाले भने आजको बैठकबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।
भट्टराई–यादव पक्षले आज अनौपचारिक बैठक बोलाइएको जानकारी गराउँदै बैठकमा ठाकुर–महतो पक्षले गरेको विधान विपरित गतिविधिबारे पनि छलफल हुने जनाइएको छ ।
बिहिबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए। भक्तपुरको एक रिसोर्टमा भएको सांसदको भेलाले महतो नेता चुनिएका हुन्। भेलामा १८ जना सांसद रहेको ठाकुर–महतो पक्षको दाबी छ।
जसपाको कार्यकारिणी समितिमा ५१ जना छन्। ती मध्ये रेशम चौधरी जेलमा छन्। कार्यकारिणी समितिमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग बहुमत छ।
भट्टराई–यादव पक्षले आफूहरूसँग ३० जना भन्दा बढि रहेको दाबी गर्दै आएको छ। ठाकुर–महतो पक्षले समेत भट्टराई–यादवसँग सामान्य बहुमत रहेको स्वीकार्दै आएको छ। यी विभन्न घटनाक्रम हेर्दा जसपा लगभग फुटको संघारमा पुगेको अनुमान लगाउन कठिन नहुने जसपाकै जिल्लास्तरका नेताहरु दावी गर्छन् ।
Leave a Reply