नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो । ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो ।
एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ ।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य रु ११.५३ तय गरे पनि हाल लागत मूल्य बढेका कारण रु १२.३३ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउछन् । दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ ।
Leave a Reply