काठमाडौं। प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुंदे सहमति भएको नक्कली (फेक) पत्रसहित समाचार प्रकाशित गरेको भन्दै उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङलाई पक्राउ गरेको छ ।
अनलाइनको अनामनगरस्थित कार्यालय पुगेको प्रहरीले तामाङलाई पक्राउ गरेको हो । प्रकाशित समाचारबारे नियामक निकाय प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमायाचना गरेको थियो भने उच्च अदालत पाटनले उक्त समाचार प्रकाशित गर्ने पत्रकारहरुलाई धरपकड नगर्न प्रहरीलाई आदेश दिएको थियो। तर, प्रहरीले आज कार्यकारी सम्पादक तामाङलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको आदेशमा भनिएको थियो, ‘फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानुन विपरित हुने गरी निवेदकहरुलाई धरपकड हुने कार्य नगर्नु/नगराउनु।’
यद्यपि आदेश आएकै दिन महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले अनलाइन नेपालसंग कुरा गर्दै मुद्दा नै दर्ता भइसकेको हुँदा प्रक्रिया अघि बढ्ने बताएका थिए । प्रहरीले पत्रकारविरुद्द समाचार प्रकाशित गरेको बिषय भन्दा पनि साइबर क्राइम र राज्यविरुद्धको कसुरमा अनुसन्धान हुने प्रहरीको भनाइ छ।
समाचार प्रकाशन भएपछि उज्यालो नेटवर्कसहित सात वटा अनलाइनलाई नियामक निकाय प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । काउन्सिलले सोधको स्पष्टीकरणको जवाफमा उक्त अनलाइनहरुले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागेर समाचार हटाईसकेका थिए।
यसैबीच, नेपाल प्रेस युनियन काठमाडौं शाखाले प्रहरीले हस्तक्षेप गरि पत्रकार अनिश तामाङ पक्राउ गरेको घटनाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शाखाका अध्यक्ष जगन्नाथ दुलालद्वारा जारि विज्ञप्तिमा भनिएको छ, ‘प्रेस युनियन काठमाडौं शाखा सञ्चार गृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामाग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भत्र्सना गर्दछ । प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीकै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा गरेका छन् । उच्च अदालतले समेत समाचार लेखेका आधारमा सञ्चारकर्मीमाथि धरपकड नगर्न दिएको आदेशको अवज्ञा हुनु अत्यन्त निन्दनीय विषय हो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न हामी जोडदार माग गर्दछ । तत्काल गिरफ्तार पत्रकार तामाङलाई रिहा गरियोस् । प्रेसलाई तर्साउने नियतले हुने जुनुकनै प्रकारको आक्रमण प्रेस युनियनका लागि सह्य हुनेछैन । तत्काल गिरफ्तार पत्रकार रिहाई गर्न र उच्च अदालत पाटनको आदेशको सम्मान गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखा सरकारको ध्यानाकर्षण गराउँदछ ।’
Leave a Reply