काठमाडौं । चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लैजानुपहिले पूजाआजा गरेका हुन्।
चितवनको अयोध्यापुरीमा राख्नका लागि तयार पारिएका राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको हो।
प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका छन्।
अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ। प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा मूर्ति बनाएको बताउने गरेका छन्।
ती मूर्ति चितवन पठाउन हस्तान्तरण गर्नुअघि आज बिहान बालुवाटारमा पूजाआजा गरिएको थियो।
यता, प्रधानमन्त्री निवासमा आज आयोजित उक्त पूजा विवादमा परेको छ । सरकारले हिजो मात्रै कोरोनासम्बन्धी नयाँ नियम बनाउँदै कुनै पनि सभा समारोहमा २५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने र सामाजिक दूरी कायम गर्नुपर्ने आदेश जारी गर्यो ।
मन्त्रिपरिषद्को निर्णयमा ‘एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने’ भनिएको छ।
तर, त्यसको भोलीपल्टै प्रधानमन्त्री निवासमा नै उक्त निर्णयको खिल्ली उडाएको देखियो ।
आज विहानै प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त पूजा अनुष्ठान कार्यक्रममा २५ जना भन्दा धेरै सहभागी भएको देखिन्थ्यो ।
सबैले माक्स लगाएको भए पनि भिड बाक्लो थियो भने भौतिक दूरी पनि सरकारले तोकेजस्तो मापदण्ड कायम भएको देखिएन ।
कार्यक्रममा पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी थिए।
Leave a Reply