काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ लाख ३४ हजार ६ सय ९२ नयाँ संक्रमित थपिएका छन् ।
योसँगै भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या दुई लाख नाघेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाको संक्रमणबाट कारण मृत्यु भएको छ ।
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७५ हजार ६ सय ४९ पुगेको छ भने संक्रमितको संख्या १ करोड ४५ लाख २६ हजार नाघेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २६ लाखभन्दा बढी निको भएका छन् ।
भारतमा अहिलेसम्म ११ करोड ९९ लाख ३७ हजार ६ सय ४१ डोज खोप लगाइसकिएको छ ।
पछिल्ला दिनमा महाराष्ट्र, दिल्ली, गुजरात, मध्यप्रदेश, उत्तरप्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, बिहारलगायतका राज्य संक्रमण फैलने क्रम तीव्र बनेको छ ।
संक्रमण रोक्न विभिन्न राज्यहरुमा कर्फ्यु र लकडाउन गरिएको छ । भारतको राजधानी दिल्लीमा सप्ताहान्तमा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार राति दस बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने छ ।
संक्रमण बढेसँगै अस्पतालहरुमा किरामीहरुको चाप निकै बढेको छ । बेड अभावका कारण बिरामीहरु अस्पतालको गेटमै घण्टौं कुर्न बाध्य छन् । केहीले त उपचार नपाएर नै ज्यान गुमाउनुपरेको छ ।
त्यसैगरी रेमडेसिभिर र अक्सिजनलगायतका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरुको चरम अभाव हुन थालेको छ ।
संक्रमण भयावह बनेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरिद्वारामा जारी कुम्भ मेलालाई स्थगन गर्न आग्रह गरेका छन् ।
मोदीले शनिबार बिहान ट्वीट गर्दै आयोजकलाई मेला स्थगन गर्न भनेको बताएका छन् । उनले मेलाका आयोजकमध्येको जुना अखडाका प्रमुख स्वामी अवधेशानानन्द गिरीलाई फोन गरेर त्यस्तो आग्रह गरेको ट्विटमा उल्लेख गरेका छन् ।
‘दुई वटा शाही स्नान भइसकेको छ, मैले कोरोना संकटलाई ध्यान राख्दै अबको शाही स्नानलाई प्रतिकात्मक बनाउन प्रार्थना गरेको छु जसले यो संकटविरुद्ध लडाइँमा एउटा तागत मिल्नेछ’ मोदीले ट्वीटमा भनेका छन् ।
तर, आयोजक उत्तराखण्ड राज्य सरकारले भने कुम्भ मेला स्थगन गर्ने सम्बन्धमा कुनै निर्णय लिएको छैन । कुम्भ मेलामा सहभागी भएकाहरुमध्ये कैयौं साधु र तीर्थालुहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।
Leave a Reply