कोहलपुर । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिपर ठोकिँदा पाँचको मृत्यु भएको छ।
दुर्घटनामा परी ४१ जना घाइते भएका छन् ।
सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६ः०० बजे रोहिणी खोला नजिक एकापसमा ठोकिँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
दुर्घटनामा परी टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो ।
सुर्खेत साटाखानी निवासी जीवनकुमार न्यौपानेको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चारको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
घाइतेलाई कोहलपुरस्थित शिक्षण अस्पतालमा पु-याइएको छ ।
घाइतेमध्ये सातको अवस्था गम्भीर, १४ को मध्यम र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
Leave a Reply