Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रहरीको गोलीले युवा मारिएको बिरोधमा अमेरिकामा तनाव, दुई सहरमा कर्फ्यु

    प्रहरीको गोलीले युवा मारिएको बिरोधमा अमेरिकामा तनाव, दुई सहरमा कर्फ्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 3.7K
    SHARES

    एजेन्सी। प्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

    मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन्।



    २० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो।



    त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

    प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्।

    प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन्।

    तर उक्त घटनालाई लिएर त्यहाँ प्रदर्शनहरू भइरहेका छन्।

    अर्का एक अश्वेत व्यक्ति जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भइरहेका छन्।

    सोमवार बिहानको एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए।

    उक्त भिडिओमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिन्छ।

    प्रहरी प्रमुखले ती अधिकारीले राइटलाई बेहोस बनाउन खोजेको तर गल्तीले गोली चलेको हुनसक्ने आफ्नो विश्वास रहेको बताए।

    गोली हान्ने महिला अधिकारीलाई अहिले बिदामा पठाइएको छ।

    रोयटर्स समाचार संस्थाका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयास गरेको छ र कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि भएको छ।

    प्रदर्शनकारीहरूले फुटपाथमा चकले लेखेका र मैनबत्ती बालेका थिए। पछि उनीहरूलाई अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड हानेर प्रहरीले तितरबितर पारेको छ।

    स्थानीय समाचार संस्थाहरूका अनुसार त्यहाँ लुटपाट पनि मच्चिएको छ।

    मिनिआपोलिस र सेन्ट पलमा आइतवार र सोमवार रातिका लागि कर्फ्युको घोषणा गरिएको छ।

    राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहारलाई दु:खद भनेका छन्।  तर, उनले लुटपाट मच्चाउने कार्यको कुनै पनि औचित्य नभएको बताए। बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार