महोत्तरी । महोत्तरीको भङ्गाहबाट एकसाथ हराएका सात किशोरी र बालिकालाई बुधबार राति नेपाल ल्याइएको छ ।
भङ्गाह नगरपालिकाका नगरप्रमुख सञ्जिवकुमार साहका अनुसार उनीहरुलाई आज परिवारको जिम्मा लगाइने छ । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउन उनीहरुका परिवारजनले माग गरेका छन् ।
मंगलवार घरबाट घाँस काट्न गएका भङ्गाहा नगरपालिका ८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान वेपत्ता भएका थिए ।
भारतको सीतामढी प्रहरीले बुधबार उनीहरुको उद्धार गरेको हो । सातै जनाले आफूहरु गायिका बन्न भारत गएको बताएका छन् ।
उनीहरुलाई यसरी फकाएर लैजाने व्यक्तिबारे प्रहरीले अनुसन्धान थालेको छ ।
Leave a Reply