Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • हाजिर मात्रै गरेर तलब खाइरहेका विशेषज्ञलाई काम लगाउन किन सक्दैन स्वास्थ्य मन्त्रालय ?

    हाजिर मात्रै गरेर तलब खाइरहेका विशेषज्ञलाई काम लगाउन किन सक्दैन स्वास्थ्य मन्त्रालय ?

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । कोरोना संक्रमितको उपचारमा जनशक्ति अभाव भएको भन्दै सरकारले डाक्टर, नर्ससहित दुई सय ५६ स्वास्थ्यकर्मी करारमा भर्ना गर्न विज्ञापन गरेको छ । तर, अपेक्षाअनुसार आवेदन नपरेको भन्दै चिन्ता जनाइरहेको छ ।

    दुर्भाग्य, हाजिर मात्रै गरेर तलब खाइरहेका विशेषज्ञ चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मीलाई काममा खटाउनेतर्फ भने सरकारले कुनै चासो देखाएको छैन ।



    समायोजन नमिलेर जगेडामा राखिएका यी स्वास्थ्यकर्मी देशमा विपत् आइलाग्दा पनि कामविहीन छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय केहीलाई विभिन्न हेल्प डेस्कमा परिचालन गरिए पनि अधिकांश फुर्सदिला छन् ।



    स्वास्थ्य मन्त्रालयमै विशेषज्ञ चिकित्सकसहित २२ स्वास्थ्यकर्मी फाजिलमा छन् । विशेषज्ञतर्फ एघारौँ तहका महमद दाउद र डा. राधिका थपलिया तथा दशौँ तहका डा. पवनकुमार शाह र डा. श्रवणकुमार मिश्र हाजिर मात्रै गर्छन् ।

    त्यस्तै, नवौँ तहका डा।प्रज्ज्वल श्रेष्ठ, डा. नीलम ठाकुर, डा।रवीन्द्र रेग्मी, डा. सुमित अग्रवाल र डा. सन्ध्या जोशी पनि कामविहीन छन् ।

    जब कि मन्त्रालयले १० चैतमा गरेको विज्ञापनमा नवौँ तहका जनरल फिजिसियन सातजना मागेको छ । त्यस्तै, नवौँ तहका एनेस्थेसियोलोजिस्ट सातजना, आठौँ तहका मेडिकल अधिकृत २० जना, पाँचौँ तहका स्टाफ नर्स सयजना गरी एक सय ३४ स्वास्थ्यकर्मी मागेको छ ।

    आवेदनको म्याद सात दिन राखेकोमा पाँच दिनसम्म चिकित्सकको आवेदन परेको छैन । मन्त्रालय स्रोतका अनुसार नर्सका लागि ५० जति आवेदन मात्रै परेको छ ।

    मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सहसचिव रघुराम विष्टले फाजिलका केही स्वास्थ्यकर्मी सम्पर्कमै नरहेको नयाँ पत्रिकालाई बताए । उनीहरू प्रदेश र स्थानीय तहमातहत रहेको उनको भनाइ छ ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले फाजिलका तीन सयभन्दा बढी स्वास्थ्यकर्मी सम्पर्कबाहिर रहेको बताए । करिब दुई सयलाई भने देशभरका हेल्प डेस्कमा परिचालन गरिएको उनको भनाइ छ । उनका अनुसार सम्पर्कबाहिर रहेकाहरू चौथो, पाँचौँ, छैटौँ र सातौँ तहका छन् ।

    जब कि विभागले पनि यी तहका समेत ७८ स्वास्थ्यकर्मी माग गर्दै ११ चैतमा विज्ञापन आह्वान गरेको छ । नवौँ तह एनेस्थेसियोलोजिस्ट चारजना, नवौँ तह चिकित्सक (एमडी क्रिटिकल केयररएमडी इन्टरनल मेडिसिन) चारजना, आठौँ तह मेडिकल अधिकृत १६ जना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स ५० जना मागेको छ ।

    विभागले सात दिनको म्याद दिएकोमा हालसम्म नगन्य आवेदन परेको छ । ‘अपेक्षाअनुसार दरर्खास्त आएको छैन,’ महानिर्देशक श्रेष्ठले भने, ‘यो वेला दर्खास्त दिनुपर्ने थियो, तर दिएनन् ।’ आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार