काठमाडौं । अवैध लागूऔषध चरेससहित पक्राउ परेको भनिएका नेपालका दुई महिलालाई भारतमा १ लाख जरिवानासहित १० वर्षको जेल सजाय भएको छ ।
जरिवानाको रकम नबुझाए दुवैले थप दुई वर्ष जेल बस्नुपर्ने पनि अदालतले जनाएको छ ।
हिजो भारत उत्तर प्रदेशस्थित बहराइचका विशेष न्यायाधीश नितिन पाण्डेयले १० वर्षको जेल सजायसहितको फैसला गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमहरुमा जनाइए अनुसार एडीजीसी क्रिमिनल फिरोज अहम्मद खाँले रुपैडिहा थानाको प्रहरीले रोडवेज बसको प्रतीक्षा गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा चरेससहित उनीहरूलाई पक्राउ गरेको बताएका छन् । यद्यपी चरेसको परिमाण भने खुलाइएको छैन ।
दुवै महिलालाई २०१९ फेब्रुअरी १७ का दिन रुपैडिहा बसपार्कमा चरेससहित पक्राउ गरेको प्रहरीको दाबी थियो ।
जेल सजाय तोकिएकाहरुमा रुकुमकी शिरकुमारी कामी र रोल्पाकी मायादेवीलाई सजाय भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, दुवैको विस्तृत ठेगाना भने खुलाइएको छैन ।
Leave a Reply