काठमाडौं । विगत ४१ वर्षदेखि भारतका विभिन्न जेलमा कैदी जीवन विताएका इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज जेलमुक्त भएका छन् ।
सन् १९८० मा भारतको दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका तिम्सिनाको मानसिक अवस्था ठीक नभएको भन्दै पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा राखिएको थियो ।
कोलकातास्थित उच्च अदालतले दुर्गाप्रसादलाई काकाका छोरा प्रकाशचन्द्रको जिम्मामा बुधबार नै छाड्ने आदेश दिएको थियो ।
प्रकाशचन्द्र दाईलाई लिन दमदम जेलमा पुगेका थिए भने उनीसँगै विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत पनि पुगेका थिए ।
गत मंसिरमा दुर्गाप्रसादको अवस्थाबारे परिवारले जानकारी पाएसँगै भाई प्रकाशचन्द्रले ११ फागुनमा दाइको रिहाईका लागि कोलकातास्थित उच्च अदालतमा निवेदन थिएका थिए ।
अदालतले गत बुधबार दुर्गाप्रसादको दिमागी हातल ठीक नभएको भन्दै तत्काल छाड्न आदेश दिएको थियो ।
फैसलामा भाइ प्रकाशचन्द्रले नै जिम्मेवारी लिएर लैजानुपर्ने छ ।
सोहीअनुसार शुक्रबार अदालतमा प्रकाशचन्द्रले अदालतमा सम्झौता पेपरमा हस्ताक्षर गरेर दाइको जिम्मा लिएका हुन् ।
यद्यपी दुर्गाप्रसादमाथि लागेको मुद्दा भने किनारा नलागेको प्रकाशचन्द्रले बताएका छन् ।
प्रकाशचन्द्रका अनुसार ६–६ महिनामा महावाणिज्य दूतावासमार्फत दुर्गाप्रसादको अवस्था जानकारी गराइरहनुपर्नेछ ।
शुक्रबार बिहान साढे १० बजे प्रकाशचन्द्र महावाणिज्य दूतावासका सेक्रेटरी थापासहित अदालत पुगे का थिए। अदालतका रजिस्ट्रारले उनलाई हस्ताक्षर गराएकाे सम्झौतामा लेखिएको थियो, ‘हरेक ६ महिनामा दुर्गाप्रसादको मानसिक स्थितिबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनू । वाणिज्य दूतावासले अदालतलाई जानकारी गराउनेछ ।’
मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेतका अनुसार महावाणिज्य दूतावासले यसअघि गाडि दिएर नेपाल पुर्याउने प्रतिबद्धता जनाए पनि गाडि नपठाएको प्रतिक्रिया दिए ।
अदालतसँगको सम्झौतामा पनि महावाणिज्य दूतावासले नै पुर्याउने भनेका तर, दूताबासले यो प्रतिबद्धता पूरा नगरेको बस्नेतले दावी गरे ।
महावाणिज्यदूत ईश्वरराज पौडेलले हिजोसम्म दुर्गाप्रसादसहितको टोलीलाई सकुशल नेपाल पुर्याउने बताए पनि आज भने बसको टिकट गरिदिन्छौं त्यसैमा जानुहोला भन्दै पन्छिएको बस्नेतको भनाई छ ।
। उनी सन् १९८० मा दार्जेलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।
दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको प्रकाशचन्द्रले एउटा जाहेरीको भरमा ४० वर्ष किन जेल राखियो भन्दै प्रश्न गरेका छन् ।
दुर्गाप्रसाद छुट्नुमा सबैभन्दा बढि योगदान अधिवक्ता हिरक सिन्हाले दिएका छन् । उनले दुर्गाप्रसादका लागि निशुल्क बहस गरे भने पीडितलाई छुटाउन समेत पहल गरे ।
Leave a Reply