काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिउँदै महिलालाई डोजरले पुरेर फरार भएका चालकलाई पक्राउ गरेको छ।
सीआईबीको टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई कन्चनपुरबाट पक्राउ गरेको हो ।
गत फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डोजरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।
ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । डोजर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए । काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘डोजरले मान्छे पुर्यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।
त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।
Leave a Reply