Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • एमाले बाहेकको सरकार ‘घाम र जून’को मिलन जस्तै असम्भव : मुख्यमन्त्री गुरुङ

    एमाले बाहेकको सरकार ‘घाम र जून’को मिलन जस्तै असम्भव : मुख्यमन्त्री गुरुङ

    ओलीको नेतृत्वमा सरकार पाँच वर्ष चल्छ

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताएका छन्  ।

    बुधबार पोखरा महानगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उनले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गरेका छन्  ।



    प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन विकल्प रहेको बताउँदै उनले कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने चौथो विकल्प कठिन रहेको बताए । कांग्रेस, माओवादी र मधेशवादीसँगै जाने कुरा धेरै गाह्रो रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सर्वोच्चको फैसलापछि मिलीजुली सरकारको नेतृत्व गर्दै समृद्धिको अभियानको नेतृत्व गर्ने हैसियत एमालेलाई प्राप्त भएको छ । मधेशमा एउटै आधार भएका कांग्रेस र मधेशवादीदलसँगै जाने र एमाले बाहेकको सरकार बनाउने कुरा ‘घाम र जून’को मिलन जतिकै असम्भव छ ।’



    माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु नपर्ने तर्क गर्दै मुख्यमन्त्रीले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए उसका लागि दुर्भाग्य र घाटा हुने भन्दै अपरिपक्क निर्णय माओवादीले नगर्ने विश्वास व्यक्त गरे । माओवादीसँग नयाँ परिस्थितिमा छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको मुख्यमन्त्रीले स्पष्ट पारे । उनले भने, ‘शुरुमा माओवादी केन्द्रको समर्थनमा केपी ओली नेतृत्वको वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा दुईअनुसार गठन भएको हो । केन्द्रमा माओवादीले समर्थन फिर्ता लिए पनि अहिले एमालेले गुमाउने केही पनि छैन । बढी घाटा उसैलाई हुन्छ, सात प्रदेशमध्ये दुई प्रदेशको मुख्यमन्त्री र अन्य प्रदेशमा सरकारबाट फिर्ता हुनुपर्दछ, त्यो उसका लागि दुर्भाग्य हो ।’

    सर्वोच्चको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि एमाले र माओवादी कुन दलका मान्ने भन्नेमा स्पष्ट नभए पनि मुख्यमन्त्री गुरुङले सूर्य चिह्नबाट चुनाव जितेको र केपी ओलीको हस्ताक्षरबाट टिकट प्राप्त गरेकाले उनीहरू एमालेकै हुने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार