काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गरेर हटाउने निर्णय गरेको छ ।
प्रचण्ड–माधवको शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा पहिलो सर्त बनाएको छ ।
बैठकले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्दै राजनीतिक निकासका लागि संसद बैठक अघि प्रधानमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेको हो ।
यो पक्षले आइतबार बिहानसम्म प्रधानमन्त्री ओलीको राजीनामा कुर्ने र नगरेको खण्डमा बिहान १० बजे नै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना बनाएको छ ।
संसदीय दलको नेतामा चयन भएपछि अध्यक्ष प्रचण्डले भने–‘आउने दिन सहज बनाउँने हो भने संसद पुर्नस्थापना भइसकेपछि र आज संसदीय दलको बहुमतले झन्डै १ सय १५ जनाको हस्ताक्षरको बहुमतले मलाई दल नेता चयन गरिसकेपछि प्रधानमन्त्री केपी ओलीले अविलम्ब राजीनामा दिनु उहाँको लागि पनि देशको लागि पनि सहज हुन्छ । उहाँले दिनुभएन भने त हामी संविधान, नियम कानुन, पद्धति अनुसार संसदबाटै हल खोल्छौँ । उहाँले अविश्वासको प्रस्तावको बाटोमा जान हामीलाई बाध्य पार्नुभएको छ हामी त्यही बाटो जान्छौँ ।’
यता, प्रधानमन्त्री केपी शर्मा ओली भने राजीनामा दिने पक्षमा छैनन् । शुक्रबार नै आयोजित विप्लव समूहस भएको सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘संसदीय दलको नेता म यहाँ छु । कता हो दलको बैठक बसेको छ रे ।’ भन्दै व्यङ्ग्य गरेका थिए ।
Leave a Reply