Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारीको मृत्यु

    म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    एजेन्सी। म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ ।

    सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुन समेत देशका सबैजसो शहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन् ।



    यसै महिनाको शुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन् । जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरेपनि सेना विरुद्धको प्रदर्शन रोकिएको छैन ।



    आइतबार बिहान समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए । सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइन मार्फत आम जनतालाई आह्वान गरिएको थियो ।

    स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई शहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन् ।

    उद्धारकर्ता पाई ज हेइनले सेना, प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको तथा घाइतेहरुलाई रबरको गोली लागेको बताए । उनले गोली लागेका व्यक्तिहरु अस्पतालमा ल्याउनेक्रम रहेकाले घाइते वा मृतकको संख्या अरु बढ्न सक्ने जानकारी दिए ।

    म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो ।

    सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौं नेतालाई गिरफ्तार गरेको छ ।

    सेनाको उक्त कदमको संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अरु कैयौं देशले विरोध गरेका छन् ।

    आइतबार अघिसम्म कम्तीमा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । भिड नियन्त्रण गर्नेक्रममा एक प्रहरी अधिकारीको पनि मृत्यु भएको सेनाले जनाएको छ ।

    सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार