नवराज घोरासैनी काँठे गीत गाउने कुशल गायक हुन् । काठमाडौं उपत्यका आसपास गाइने काँठे गीतलाई उनै घोरासैनीले चर्चामा ल्याएका छन् । ‘घुम्तीनेर लेट भयो’ बोलको गीतबाट चर्चामा आएका घोरासैनी १० वर्ष गीत संगीतबाट टाढा रहे । आफ्नै घरायसी समस्याका कारण गीत संगीतबाट टाढा रहेको उनी बताउँछन् । १० वर्षपछि गायनमा पुनः कम्ब्याक गरेका गायक घेरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीत ल्याएका छन् । गीतले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । गीत संगीतका विषयमा वरिष्ठ गायक नवराज घोरासैनीसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानीको सम्पादित अंश :
० तपाईको नयाँ गीत ‘मिर्मिर कपालैमा’ आएको रहेछ । लामो समयपछि गीत गाउनु भएको हो ?
– मेरो यो गीत लभगभ दश वर्ष पछाडिको मेहनत हो ।
० ‘घुम्तीनेर लेट भयो’ र ‘मिर्मिर कपालैमा’को ग्याप कति छ ?
– २०५८ सालमा साउन महिनामा ‘घुम्तीनेर लेट भयो’ भन्ने गीत निस्किएको हो । त्यसपछि दुई/चार वटा गीत गाएँ । झण्डै दश वर्षको ग्याप भयो । त्यसपछि मेरो आफ्नै विशेष रुपमा ‘मिर्मिर कपालैमा’ प्रस्तुत गरेको छु ।
० यो दश वर्षको वीचमा अरु गीत गाउनु भयो कि भएन ?
– मैले अरुको कमपोज त गाएँ । स्वर दिएको छु ।
० ‘मिर्मिर कपालैमा’ तपाईको आफ्नै लगानी हो ?
– हो । लगानी मात्रै होइन किस्वर, संगीत र शब्द पनि मेरै छ । यो गीतमा चर्चित गायिका अञ्जु पन्तले साथ दिनुभएको छ ।
० ‘मिर्मिर कपालैमा’ कस्तो खालको गीत हो ?
– यो गीत ‘काँठे’ हो । यसमा मैले धेरै मेहनत गरेको छु । सबैले यो गीत मन पराइदिनुहुन्छ भन्ने आश गरेको गीत हो ।
० ‘घुम्ती नेर लेट भयो’ र ‘मिर्मिर कपालैमा’ के फरक छ ?
– त्यस्तो केही फरक छैन । मेरोपना देखिन्छ । झल्किन्छ । लय उस्तै छैन । केही फरक छ । भाका ‘घुम्तीनेर लेट भयो’लाई सुहाउने खालको जस्तै बनाउन खोजिएको छ । अलिकति फरक छ ।
० तपाईको गीत र गण्डकी, धौलागिरी, राप्तीतिर गाउने गीतमा फरक के छ ?
– लोक दोहोरी भनेको एउटै पाटो हो । पूर्वमा जुहारी भन्छन् । पश्चिमतिर मारुनी पनि भनिन्छ । पूर्वेली गीत आफ्नै ठाउँमा छ । शम्भु राई दाईले गाउने गीतहरू आफ्नै प्रकारको छ । पश्चिमतिर गाउने टप्प, रोइला, सालैजो, दोहोरीको आफ्नै महत्व छ । पूर्व अर्थात हाम्रो काँठ क्षेत्रमा गाउने गीतहरू घाँसे अर्थात काँठे लोकदोहोरी पनि भन्छन् । समग्र रुपमा यसमा केही फरक छैन । दोहोरी र जुहारी गाउने एउटै शैली हो । एउटै रुप हो । ठाउँ अनुसारको लय र भाका शब्द लिने फरक हो । गीत संगीत अर्थात लोक दोहोरी भनेको एउटै हो । एउटै पिपलको रुख हो । हाँगा पूर्व वा पश्चिम फर्केका मात्रै हुन् ।
० तपाई यति लामो समय किन ग्याप हुनुभयो गीत संगीतमा ?
– पारिवारिक र व्यक्तिगत कारणले नभ्याएर गीत संगीतबाट टाढा भएको हुँ ।व्यस्तताका कारणले हो । घरायसी परिस्थितिले नै हो ।
० तपाईले नयाँ पुस्तासँग अब कसरी प्रतिस्पर्धा गर्नु हुन्छ ?
– उनीहरूसँग मेरो प्रतिस्पर्धा नै होइन । मेरा स्रोताहरू आफ्नै खालको हुनुहुन्छ । मेरा स्रोताले नयाँ र पुरानो पुस्ता दुबैको गीत सुन्नु हुन्छ । नयाँ पुस्तालाई मैले स्वागत गर्नुपर्छ । मभन्दा अगाडिको अग्रज गुरुहरूभन्दा पछाडि मेरो पुस्ता नआएको भए उहाँहरू (गुरु)मा सीमित हुने थियो गीत संगीत । नयाँ पुस्ता आएपछि मभन्दा पछाडि अझै जगेडा हुँदै गए । नत्र ममा सीमित हुन्छ । फरक केही छैन । लोक संगीतको जर्गेना हुनुप¥यो । नयाँ पुस्ताले नै लोक तथा दोहोरी गीतलाई संरक्षण गर्दै जान्छन् भन्ने मलाई आशा छ ।
० ‘मिरमिर कपालैमा’ गीत तपाईले रहर हो कि, बाध्यता हो कि, पेशागत धर्मले ल्याउनु भएको हो ?
– मेरो पेशागत धर्म हो । पहिलाभन्दा ‘मिरमिर कपालैमा’ मेरो धेरै मेहनत लागेको छ । यो गीतमा दर्शक, स्रोताहरूको प्रक्रिया आउन बाँकी छ । अहिलेसम्मको प्रतिक्रिया राम्रो आएको छ । म अत्यन्तै खुसी छु ।
० तपाईको समकालीन गायक, गायिकाहरू कसैले गीत संगीत छाडेर पलायन हुनुभएको छ । कोही अहिले पनि टिकिरहनु भएको छ । उहाँहरूलाई तपाईको केही सुझाव र सल्लाह छ ?
– उहाँहरू विस्थापित भएको जस्तो लाग्दैन । गीत गाउन बोलाउँदा उहाँहरू आउनु हुन्छ । नयाँ गीत निकाल्नमा मेरो जस्तै घरायसी समस्या होला । विस्थापित भएको होइन । नयाँ गीत रेकर्ड गर्न बोलाउँदा उहाँहरू आउनु हुन्छ । मलाई त्यो आशा र विश्वास छ ।
० तपाईले आदर्शका रुपमा लिने अर्थात सम्मान गर्ने कलाकारहरू को–को छन् ?
– कुमार बस्नेत दाई, शम्भु राई दाई, नारायण रायमाझी दाई, स्व.युक्त गुरुङ दाई, स्व.पाण्डव सुनुवार दाई, अमर विहरी गुरुङ दाईहरूलाई मैले आदर्शका रुपमा लिने गरेको छु । अग्रजहरूको योगदानले अर्थात उहाँहरूको गीत सुनेर म यो ठाउँमा आएको हुँ ।
० कुनै समयमा तपाई यति ठूलो र चर्चित गायक हुनुहुन्थ्यो । यसरी लामो समय ओझेलमा पर्दाखेरी तपाईलाई आत्मगलानी भएन ?
– ओझेल पर्नु हुनु थिएन । घरायसी बाध्यताले ओझेल परियो । गीत संगीतमाअब मेरो निरन्तरता हुन्छ । ग्याप भएको कारणले अलिकति अफ्ठ्यारो भएको छ । मेरो दर्शक स्रोताहरूले नवराज घोरासैनी हराएको हो कि भनेर जिज्ञासा पनि राख्नु भएको छ । नयाँ गीत साथ आएपछि आउँदा दिनमा पनि यस्तै खालका राम्रा गीत ल्याउनुपर्ने भनेर प्रतिक्रिया पाएको छु । अब म ओझेल पर्दिन ।
० नयाँ पुस्ताले ल्याएका गीतहरू तोडमरोड गरिएका हुन्छन् । तपाई राम्रो गायक । ती गीत सुन्दा तपाईलाई अफ्ठ्यारो लाग्छ ?
– मैले नयाँ पुस्ताले गरेको काम मिलेन भन्ने प्रतिक्रिया वा नराम्रो भयो भन्ने प्रतिक्रिया दिन मिल्दैन । म आफै पनि कलाकार हुँ । सिनियर भएको नाताले मैले त्यसमा प्रतिक्रिया दिन मिल्दैन । अझै राम्रा गीत ल्याइदिनु होला भन्ने आशा छ । म कसैको विरोध गर्ने वा नराम्रो भयो भन्न मिल्दैन । नेपाली गीत संगीतको विकास भएको छ । हिजो म काठमाडौं छिर्दा गाडीहरूमा हिन्दी गीत बज्द थिए । अहिले पार्टी, विवाह, रेष्टुरेन्ट, गाडी वा होटेलहरूमा जे बजेपनि नेपाली गीत संगीत बज्ने गरेका छन् । म खुसी छु । नराम्रो प्रतिक्रिया दिन चाहन्न ।
० महोत्सवसहरू गायक, गायिका, कलाकारहरूले दिने प्रस्तुति राम्रो छ कि नराम्रो छ ? अर्थात कलाकारहरूले प्रस्तुति दिने क्रममा आफ्ना कपडा फाल्ने, गोप्य अंग देखाउने गर्छन् । तपाईलाई यो विषय कस्तो लाग्छ ?
– नेपाली संस्कृतिमा झल्किने कपडा लगाउने कुरा ठीक छ । अश्लील चाहिँ हुनु भएन । महोत्सवको आकर्षण भनेको कलाकार हो । नेपाली समाजमा भिजेका, नेपाली संस्कृतिसँग मिल्ने खालका ड्रेस लगाइदिनुभयो भने लोक संगीतलाई अझ राम्रो हुने थियो । अश्लीलता नराम्रो हो । राम्रो ड्रेसको प्रतिक्रिया र नराम्रो प्रस्तुतिको प्रतिक्रिया दर्शकले दिनुभएको छ । त्यसमा मैले भनिरहनु पर्दैन ।
० नेपाल सरकारले कलाकारहरूका लागि गर्नुपर्ने के हो ?
नेपाली गीत संगीत भनेको हाम्रो देशको लालीगुराँस हो । नेपाली झण्डा जस्तै हो । उच्च शिर हो ।वर्षमा एउटा गीत मात्रै भएपनि रेकर्ड गराइदिने माहोल संस्कृति मन्त्रालयले गरिदियो भने राम्रो हुने थियो । यसमा पहल भएको छैन । संगीत विकास बोर्डको आवश्यक्ता छ । त्यो बोर्डको स्थापना गरेर राम्रा गीतलाई वर्षमा एउटा मात्रै भएपनि नाम चलेको कलाकारको गीत रेकर्ड गरिदिनुभयो भने कलाकार पनि विस्थापित हुने थिएन । कलाकारहरूप्रति न्याय हुने थियो । संस्कृति मन्त्रालयलाई पनि कलाकारहरूप्रति धर्म गरेको हुने थियो ।
Leave a Reply