Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाका पहिलो नेपाली संक्रमित भन्छन् : अहिले मलाई कुनै स्वास्थ्य समस्या छैन

    कोरोनाका पहिलो नेपाली संक्रमित भन्छन् : अहिले मलाई कुनै स्वास्थ्य समस्या छैन

    सुरेन्द्र फुयाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2.7K
    SHARES

    काठमाडाैं । कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड–१९ भएको पुष्टि भएका नेपालका प्रथम र एक मात्र व्यक्ति अहिले पूर्ण स्वस्थ भएर आफ्नो दैनिकीमा फर्किसकेका छन्।

    ती ३१ वर्षीय व्यक्ति चिनियाँ सहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै विमानबाट काठमाण्डू उत्रिएका थिए।वुहानमा रहेका नेपालीहरू नयाँ भाइरसबाट सङ्क्रमित नभएकाले नेपालमा कोही पनि डराउनुपर्ने अवस्था नआएको उनी बताउँछन्।



    उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य औषधिका अतिरिक्त अलि फराकिलो दायराको हुने ब्रोड स्पेक्ट्रमको एन्टिबायोटिक औषधि दिइएको थियो।चिकित्सकहरूका अनुसार नेपालका पर्रथ पहिलो कोरोनाभाइरस सङ्क्रमित ती व्यक्ति अहिले पूरै स्वस्थ भइसकेका छन्।



    प्रस्तुत छ बीबीसी न्यूज नेपालीले उनीसँग बिहीवार गरेको कुराकानीमा आधारित यो विवरण 

    ‘म चीनको वुहान सहरमा अध्ययन गर्छु। ज्यानुअरी र फेब्रुअरीमा विश्वविद्यालयमा जाडोको छुट्टी हुने भएकोले म ज्यानुअरी ९ तारिखमा वुहानबाट खुन्मिङ हुँदै नेपाल आएँ।

    मलाई वुहानमा नै रुघाखोकी लागिरहेको थियो। त्यहाँ भाइरसको नयाँ सङ्क्रमण सुरु भइसकेको पनि मलाई थाहा भइसकेको थियो।त्यसैले शङ्का लागेर ज्यानुअरी १३ तारिखमा म काठमाण्डूको टेकु अस्पताल गएँ जहाँ मलाई अलिकति ज्वरो आएको थाहा भयो। म वुहानबाट आएको थाहा पाएपछि चिकित्सकले मलाई निरीक्षणमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिनुभयो।

    त्यसपछि टेकु अस्पतालमै राखेर मेरो उपचार सुरु गरियो। डाक्टरहरूले मलाई औषधिहरू दिनुभयो र राम्रो हेरचाह गर्नुभयो।मलाई सुईबाट एन्टिबायोटिक औषधि पनि दिइयो। दुई दिनपछि नै मलाई आराम भइहाल्यो।

    कोरोनाभाइरस सङ्क्रमणको आशङ्कापछि मेरो खकारको नमुना जाँचको लागि हङकङ पठाइएको थियो। तर म ठिक भएर अस्पतालबाट घर फर्किएँ।पछि हङ्‌कङबाट मेरो खकारको नमुना परीक्षणको नतिजा आएछ। कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएछ।

    डाक्टरले फोन गरेर मलाई भिडभाडबाट टाढै बस्नु र आफ्नो राम्रो हेरचाह गर्नु भन्नुभयो। त्यसपछि म केही डराएँ।केही दिनपछि ज्यानुअरी २७ तारिखमा काठमाण्डूमै फेरि मेरो परीक्षण गरियो। त्यतिबेला म कोरोनाभाइरस सङ्क्रमणमुक्त भइसकेको पुष्टि भयो।

    तैपनि म सावधान रहिरहेँ। चिकित्सकहरूसँगको सम्पर्कमा रहिरहेँ। त्यसको दुई दिनपछि ज्यानुअरी ३१ तारिखमा फेरि मेरो खकार जाँच गरियो। म कोरोनाभाइरसको सङ्क्रमणमुक्त भएको फेरि पुष्टि भयो। त्यसपछि म आफ्नो घर र काठमाण्डू आउजाउ गरिरहेको छु। आफ्नो स्वास्थ्यप्रति सजग छु र आफ्नो राम्रो हेरचाह गरिरहेको छु।

    अहिले एक महिना बितिसकेको छ। म पूर्ण रूपमा स्वस्थ भइसकेको छु। मलाई कुनै स्वास्थ्य समस्या छैन। वुहानको मेरो विश्वविद्यालयमा बिदा भएकोले म नेपालमै आफ्नो अध्ययनमा जुटिसकेको छु।मेरो घर परिवारका सदस्यलाई मलाई कोरोनाभाइरस सङ्क्रमण भएको र पछि ठिक भएको थाहा छ। मलाई सबैले माया गर्नुहुन्छ। कसैले कुनै भेदभाव गर्नुहुँदैन।

    मैले कोरोनाभाइरसबारेका खबरहरू पढिरहेको छु। अहिले चीनको हुबे प्रान्त र त्यहाँको वुहान शहरमा नेपाल फर्किने प्रतीक्षा गरिरहेका नेपालीहरूमा अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस सङ्क्रमण भएको मलाई थाहा छैन।

    म पनि त्यहाँ रहेका मेरा साथीहरूसँग निरन्तर सम्पर्कमा छु। उहाँहरू स्वस्थ रहेको बताउनुभएको छ।उहाँहरूलाई नेपालमा अलग्गै जहाँसुकै राख्दा पनि स्थानीय स्तरमा कुनै समस्या हुँदैन। आत्तिनुपर्ने अवस्था छैन। सबै जनाले (छिउँ गर्दा मुख छोप्ने, साबुनले हात धोइराख्ने जस्ता) आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन चाहिँ जरुरी छ।

    मेरो विचारमा चीनको चिसो मौसमका कारण त्यहाँ नयाँ भाइरसको सङ्क्रमण फैलिइरहेको छ र त्यो नियन्त्रण हुन केही समय लागिरहेको छ।

    म नेपाल आउने बित्तिकै यहाँको तुलनात्मक रूपमा न्यानो मौसम पनि मेरो लागि अनुकूल बनेको हुन सक्छ। उपचार सुरु गरेको दुई तीन दिनमै मलाई ठिक भयो र म अहिले यसरी स्वस्थ भएर आफ्नो काममा फर्किन सफल भएको छु।

    मेरो विचारमा चिसो हट्ने क्रम सुरु भएसँगै चीनमा पनि कोरोनाभाइरसको सङ्क्रमणको क्रम कम हुन थाल्छ र सबै कुरा बिस्तारै सामान्य हुन थाल्नेछ।त्यसपछि म फेरि चीनको वुहान फर्किएर आफ्नो अध्ययनमा जुट्ने वातावरण बन्नेछ।’

    (सम्पादकीय कारणले उनको परिचय र व्यक्तिगत विवरण गोप्य राखिएको छ। )  बीबीसी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार