Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोजेको नेपाली कांग्रेसको आरोप

    सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोजेको नेपाली कांग्रेसको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले सामाजिक सञ्जाल व्यवस्थापनको बहानामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।

    कांग्रेसले आज एक विज्ञप्ति जारी गरी व्यापक विरोधका बावजुद ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्‌मा विचाराधीन विवादास्पद सूचनाप्रविधि विधेयकलाई नयाँ स्वरूपमा ब्युँताउन लागिएको भन्दै पार्टीले आपत्ति जनाएको हो ।



    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति हुन सक्दैन तर त्यसका लागि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान छँदै छन् । थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्शबेगर, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।’



    ‘सामाजिक संजाल ब्यवस्थापन’ का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिंदैछ । सजग बन्न युवा पुस्तालाई बिशेष अपील !

    अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ ।

    सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छंदैछन् । थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्न तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ । कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुंदैन, मिल्दैन र पाईदैन ।

    प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्नेछ । सामाजिक संजालमा ब्यक्त मतलाई सरकारी आवेगले कार्वाहीको दायरामा बांध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो । यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ ।

    जय नेपाल !
    विश्वप्रकाश शर्मा
    प्रवक्ता एवं प्रमुख
    सूचना, संचार तथा प्रचार विभाग

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार