काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाक्रीले राष्ट्रपति सन्की प्रधानमन्त्रीको प्यादा बनेको आरोप लगाएकी छन्।
बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विशाल सभालाई सम्बोधन गर्दै झाक्रीले यस्तो बताएकी हुन्।
राष्ट्रपतिको भूमिकामाथि प्रश्न गर्दा आलोचना भएको भन्दै झाक्रीले आक्रोश व्यक्त गरेकी हुन्।
यसअघि झाँक्रीले गोरखामा राष्ट्रपतिलाई ‘बडामहारानी’ भनेर अपमान गरेको भन्दै नेकपा ओली समूहले कारबाहीको माग गरेको छ।
झाँक्रीले भनिन्–‘एउटा तानाशाह बन्दै गएको। एउटा अहंकारी। सन्की प्रधानमन्त्रीको ब्याधा बन्ने व्यक्तिकाविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको कुनै प्रश्न आउँदैन। कुनै पनि पदमा लिंग हुँदैन। त्यो सार्वजनिक पद हो। त्यसैले बोल्न पाइन्छ।’
राष्ट्रपति पद नभएर संस्था भएको भन्दै उनले त्यो संस्थाविरुद्ध नभएर व्यक्तिको प्रवृत्तिविरुद्ध आफू बोलेको प्रष्ट पारिन्।
‘खड्गप्रसाद ओली आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका दिनमा कहाँ थिए ? दुनियालाई थाहा छ । हजारौं शहिद, घाइतेहरुको योगदानबाट प्राप्त भएको उपलब्धिका एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्छौं,’ उनले भनिन्–‘मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने राष्ट्रपति, सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिर्ष माथिको संस्था हो । त्यो संस्थामा निर्वाचनको प्रक्रियाबाट गएकोले निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्नु पर्छ । कस्ले भन्छ बोल्न पाइदैन भनेर ?’
झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध बोल्न पाउनुपर्ने बताएकी हुन् ।
झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन् ।
उनले भनिन्–‘आजको मानवसागरले भन्छ खड्गप्रसाद ओली कागजको बादशाह हुन् । ती ढलिसक । अब अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाह वा तानाशाहले आफ्नो कदलाई घटाउँदै राज्य सत्ताको दुरुपयोग गरेर कागजका अग्ला अग्ला प्रतिमा बनाउँछन् । ओलीले त्यहि गरेका छन् । यो अधोगति हो ।’
एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ ।
‘कस्ले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर ? महिला अस्मिता त्यहाँ बलात्कृत भएको छ जहाँ भागरथी भट्ट, निर्मला पन्त जस्तै कलिला किशोरी बलात्कृत भएका छन् त्यहाँ महिला अस्मिता मिचिएको छ ।’ उनले भनिन्–‘कुनै पदमा लिंग हुँदैन । त्यहाँ बोल्न पाईन्छ । त्यो सार्वजनिक पद हो ।’
Leave a Reply