काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई सुधार्नका लागी धेरै प्रयास गरे पनि सफल नभइएको बताएका छन् ।
शनिबार धनगढीमा आयोजित बृहत बिरोध सभामा बोल्दै अध्यक्ष नेपालले भने–‘केपी ओली बिग्रिए भनेर धेरै चिन्ता नगर्नुहोस्। केपी ओली सुध्रिनेवाला छैनन्, बिग्रिसकेका छन् । धेरै सम्झाउन खोज्यौं, धेरै सुधार्न खोज्यौं तर सकेनौं ।
ओलीले राम्ररी पार्टी चलाउन नसकेका कारण समस्या निम्तिएको बताउँदै उनले भने–‘कुर्सीको तानातानका लागि होइन, न त ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोज्दा नै हो, समस्याको कुरो चुरो भनेको नै ओलीले राम्ररी पार्टी चलाउन नसक्नु हो ।’
ओली सरकारकै बेला कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै नेपालले ओली सरकारले निर्मला पन्तको हत्यारा पत्ता लाउन काम नगरेको पनि बताए।
उनले भने–‘हामीले पार्टीमा कुरा उठायौं। बलात्कारमा सहभागीलाई दण्डित गर भन्यौं। केपी ओली नेतृत्वको सरकारले कुरा सुन्न चाहेन । केपी ओली सरकारको पहिलो गाँसमा नै ढुंगा पस्यो र झिंगा पस्यो। आजसम्म पनि निर्मलालाई न्याय दिन सकेन यो सरकारले। यो मानिसले कामको जिम्मेवारी पूरा गर्न सक्दैन, भ्रष्टाचार ढाकछोप गर्छ। सुशासनलाई अवलम्बन गर्न सक्दैन। जनतालाई राहत दिन सक्दैन त्यस्तो सरकारलाई हामीले कसरी बोकिरहन सक्नु ?’
सम्बोधनका क्रममा नेपालले मुलुकमा केपी ओली युग अन्त्यको घोषणा गरे ।
अध्यक्ष नेपालले भने–‘केपी ओली युगको अन्त्य हुँदैछ। उनी अस्ताउँदा सूर्य हुन्। हामी उदाउँदो सूर्य हौं। नेपाल कम्युनिस्ट पार्टी चम्किएर आउँदैछ।’
पार्टीको आधिकारिकताबारे बोल्दै अध्यक्ष नेपालले भने–‘केपी ओलीसँग १ सय जना पनि केन्द्रीय सदस्य छैनन्। त्यो डुप्लिकेट पार्टी हो। त्यहाँ भविष्य छैन । सूर्य चिन्ह त्यही हुन्छ जहाँ ३ सय केन्द्रीय सदस्य हुन्छन्। ओलीले चुनाव गराउनलान् र लोकतन्त्र जोगाउलान् भन्ने भ्रममा नपरे हुन्छ। यदि तपाई लोकतन्त्रप्रति निष्ठावान हुनुहुन्छ भने ओलीबाट आशा नगर्नुस्।’
ओली झुक्याउन अत्यन्तै सिपालु भएको बताउँदै उनले ओलीलाई गफाडी नम्बर १ भएको आरोप लगाइ ।
नेपालले भने–‘उनी झुक्याउन अत्यन्तै सिपालु हुन्। मानिस एक चोटी दुई चोटी झुकिन्छ, सधै झुकिन्न। केही मानिसालई सधैंका लागि मुर्ख बनाउन सकिएला सबैलाई लामो समय सकिन्न।’
Leave a Reply