बझाङ । जिल्ला प्रहरी कार्यालयले बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञानबहादुर कठायत छन् । हत्याका क्रममा वडाध्यक्ष अयडी चढ्ने से १ प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ ।
प्रहरीले मंगलबार राति सदरमुकाम चैनपुरको एक होटलबाट उनलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । कठायतलाई स्थानीयले मंगलबार नै घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
अर्का दुई आरोपी प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । हत्यामा संलग्न रहेको आशंका गरिएका सबै पक्राउ परिसकेको जनाउँदै खड्काले थप अनुसन्धान भइरहेको बताए ।
सिंहको मंगलबार राती खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल, छबिस पाथीभेरा गाउँपालिकाका सदस्य हुन् ।
Leave a Reply