काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–माधव) समूहले काठमाडौंमा विशाल शक्ति प्रदर्शन गरेको छ ।
प्रदर्शनमा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसहितका नेता सहभागी भएका छन्।
प्रदर्शनमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । महानगरी प्रहरी कार्यालयका प्रमुख एआईजी हरी पालले मातहतका नियकालाई सुरक्षामा कुनै पनि लापरबाही नगर्न कडा निर्देशन दिएका छन् ।
आजको विरोधसभाका लागि अति व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै मञ्च बनाइएकाले सो सडकखण्डमा गाडी चलेका छैनन् भने सुरक्षा सतर्कता पनि उच्च बनाइएको छ ।
प्रचण्ड–माधव समूहले काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर र्यालीसहित भृकुटीमण्डपमा विरोधसभा गरिरहेको छ ।
माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किएको जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत भई भृकुटीमण्डप पुगेको छ ।
विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् । प्रचण्ड काठमाडौंमै भए पनि नेपाल भने सुर्खेतबाट भर्खरै काठमाडौं आइपुगेकाछन् ।
प्रचण्ड–माधव समूहले विरोधसभा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरेको छ ।
Leave a Reply