Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रधानमन्त्री ओलीले भने–सरकारको विरोधमा लेख्ने पत्रकारहरु नर्क जान्छन्

    प्रधानमन्त्री ओलीले भने–सरकारको विरोधमा लेख्ने पत्रकारहरु नर्क जान्छन्

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले समाचार लेख्दा ‘तिमी’ लेखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    प्रेस संगठनको आफू पक्षीय कार्यकर्ताहरुको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले भने–‘सबैलाई तिमी भन्नुहुन्छ। लेख्नुहुन्छ। अंग्रेजले यु सिकाएको छ। तिमी लेख्नुहुन्छ। बीबीसीले यु भन्दियो, युको अनुवाद गरेर तिमी चलाइदियो । हामीले हाम्रो भाषा हाम्रो संस्कृति त्यो छाडिदिएर ‘यु’ वालामा गयौं, गर्वका साथ।’



    सरकारको कदमको विरोध गर्ने मिडियाहरुलाई पीत पत्रकारिताको संज्ञा दिंदै प्रधानमन्त्री ओलीले राजतन्त्र हुँदा बक्सियोस् लेख्नेहरुले अहिले तिमी लेख्न थालेको भन्दै ब्यङ्ग्य गरे।



    उनले भने–‘केही त्यस्ता मिडिया छन्। पीत पत्रकारिता। महात्त्मा गान्धीका तीन बाँदर जस्ता छन्। राम्रो कुरा सुन्न पर्‍यो भने कान थुन्ने, राम्रो कुरा हेर्नुपर्‍यो भने आँखा थुन्ने, राम्रो कुरा बोल्नुपर्‍यो भने बरु बोल्दिन भन्दै मुख थुन्ने ।’

    प्रधानमन्त्री ओलीले त्यस्‍ता मिडियाहरु नर्कमा जानेसमेत बताए।

    उनले भने–‘राजतन्त्र हुँदा दरबार हुँदा राजा हुँदा राजाका श्रीमती हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौँ ? आज हेर्नु, हुकुम बक्सियो भन्थौँ। हेर्नु भन्दैनथ्यौं, नजर भयो भन्थ्यौं। सवारी भयो भन्थ्यौं ।’

    प्रधानमन्त्री ओलीले अगाडि भने–‘अहिले, हिँड्नु भयो, खानु भयो भन्न गाह्रो छ। किनकि हामी उनी हिँडे भन्छौं। हाम्रा बाले हेरे। हाम्री आमा त्यहीँ थिइन्, तिनले पनि हेरिन्। तपाईँहरु त्यही लेख्नुहुन्छ होइन् ?’

    सम्बोधनका क्रममा ओलीले प्रचण्ड–माधव समूहले अनेक हाउभाउ देखाएर जनतालाई झुक्याइरहेको समेत आरोप लगाए।

    प्रचण्ड–नेपालको सम्बन्धलाई हिन्दी सिनेमासँगै तुलना गर्दै ओलीले यो सबै तमासा मात्र भएको जिकिर गरे।

    उनले भने–‘सिनेमा भनेको हिरो हुन्छ, हिरोइन हुन्छ । लभ परेको हुन्छ धुमधामसँग । हिरोइनी घाइते हुन्छ। हिरो ब्याकुल हुन्छ । दुस्खी हुन्छ। रुन्छ । वास्तवमा केही पनि होइन। न तिनीहरुको लभ पर्‍या हो। घाइते पनि होइन। पीर परेको पनि होइन । यो सबै तमासा हो। त्यही मानिसहरु सिनेमा देखाउन आउँछन्। जनतालाई झुक्याउँछन्। हामीले त्यस्ता तत्तवहरुबाट सजक हुनुपर्छ।’

    प्रचण्ड–नेपाल समूहका विद्यार्थीले पेरिसडाँडामा संसद विघटनविरुद्ध कालो झन्डा उडाएको प्रसंग कोट्याउँदै आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताए ।

    उनले–‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं । सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार