काठमाडौं। मानव बेचबिखन अनुसन्धान व्यूरोले ५० वर्षीया महिलालाई गैरकानुनी रुपमा चीन पुर्याई अलपत्र पारेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।
चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाई फकाई गैरकानूनी रुपमा चीन पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर पाटन बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भएका ३२ वर्षीय किरण तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
तामाङले २०७६ पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफूसँगै चीनको सान्दोङ प्रान्त हेज शहरको ताङ-लो टोल बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्याई बिक्री गरेको खुलेको थियो।
त्यसपछि ताम्पुले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाई राखेको सामाजिक संजाल मार्फत जानकारी पाएपछि व्यूरो लगायत विभिन्न निकायको समन्वयमा गत कात्तिक १२ गते नेपाल फर्की पीडितले दिएको जाहेरीको आधारमा तामाङलाई काठमाडौं महानगरपालिका-३ सानेपाबाट व्यूरोले पक्राउ गरेको हो ।
तामाङबिरुद्द जिल्ला अदालत काठमाडौंबाट म्याद थपगरी आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।
Leave a Reply