काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेका छन् ।
सरकारले घोषणा गरे अनुरुप आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभाको निर्वाचन हुने नहुने टुंगो लागिसकेको छैन ।
यद्यपी निर्वाचन आयोगले भने सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर प्रारम्भिक तयारी अगाडि बढाएको छ ।
प्रतिनिधिसभा भंग भएपछि नेकपा नै टुक्रिएको छ भने सर्वोच्च अदालतमा यसको विरुद्धमा रिटका चाङ लागेका छन् । त्यसैले पनि निर्वाचन हुने वा नहुने धेरै विषय सर्वोच्च अदालतको फैसलामा निर्भर गर्दछ ।
सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरको छ । त्यसको फैसला के गर्छ भन्ने प्रतिक्षाको विषय बनेको अवस्थामा आयोगले पहिला मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेर काम शुरु गरेको छ ।
आयोगले यसपटक युवा मतदाता नछुटाउने गरी अद्यावधिक गर्न खोजेको जनाएको छ ।
नामावलीपछि आयोगले निर्वाचनको कार्यतालिक तयार पार्ने गृहकार्यसमेत सुरु गरेको जानकारी गराएको छ ।
आयोगको कर्मचारी तहले कार्यतालिका तयार पारेपछि आयोगका अध्यक्षसहितको टोलीले त्यसलाई अनुमोदन गरेर अन्तिम रुप दिने छ ।
त्यसैगरी निर्वाचन गराउनका लागि आवश्यक पर्ने सामग्रीहरु तयारी र निर्वाचनका लागि आवश्यक बजेटका सम्बन्धमा पनि गृहकार्य भइरहेको आयोगले जनाएको छ ।
Leave a Reply