काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको जानकारी पाएपछि आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।
प्रचण्ड–माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेकाका बेला मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेको स्रोतको दावी छ ।
संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । केन्द्रमा प्रधानमन्त्री ओलीको एउटा समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अर्को समूह बनेको छ ।
पार्टी टुक्रिएसँगै प्रचण्ड–माधव समूहले सरकार ढाल्ने कसरत गरिरहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल विस्तार गरिरहेका छन् ।
प्रचण्ड–माधव समूहको नेकपा सडक आन्दोलनमा छ भने प्रधानमन्त्री ओली प्रदेशसभा नै विघटन गर्ने तयारीमा छन् ।
Leave a Reply